काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ।
प्रदेशअनुसार मतदानका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ। केन्द्रीय निर्वाचन समितिले दाबी–विरोधमाथिको छानबिन तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरेपछि हिजो केन्द्रीय कार्यसमितिका विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो।
सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ। वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। चार उपसभापति पदमध्ये दुई खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ।
महिला उपसभापति पदमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ। समावेशीतर्फको एक उपसभापति पदका लागि जीवन परियार, फरमुल्लाह मन्सुर, विनोद चौधरी, रञ्जित कर्ण र सीता गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।
त्यस्तै, तीन महामन्त्रीमध्ये दुई खुला पदका लागि अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनीलकुमार शर्मा उम्मेदवार हुनुहुन्छ।
महिला महामन्त्री पदमा डिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनालबीच प्रतिस्पर्धा हुँदैछ।
केन्द्रीय कार्यसमितिका अन्य पदमा पनि विभिन्न समूह र समावेशी कोटाबाट उम्मेदवारी परेको छ। आज हुने मतदानसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ।









प्रतिक्रिया दिनुहोस्