Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


पुराना सहमति कार्यान्वयनमा सरकार उदासीन रहेको शिक्षक महासंघको गुनासो


0
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै राज्य जिम्मेवार र इमानदार नहुँदा शिक्षक तथा कर्मचारी लामो समयदेखि उही माग र समस्यामा अल्झिनुपरेको बताएका छन् ।

महासंघले नयाँ विद्यालय शिक्षा ऐन जारी हुनुअघि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरण दिनुपर्ने माग गरेको छ । ऐन जारी भएपछि स्थायी हुने शिक्षकका हकमा भने योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्नुपर्ने उसको माग छ । त्यस्तै, अस्थायी सेवा अवधिसमेत जोडेर निवृत्तिभरणको व्यवस्था गर्न महासंघले माग गरेको छ ।

दुर्गम क्षेत्रमा कार्यरत शिक्षकको दुर्गम तथा स्थानीय भत्ता कटौती गरिएको भन्दै महासंघले यसअघि खाइपाइ आएको भत्तालाई बेरुजु देखाएर फिर्ता गराउन गरिएको पत्राचार सच्याउन पनि माग गरेको छ ।

त्यसैगरी विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास ९ईसीडी० शिक्षकका लागि दरबन्दी सिर्जना गरी पदअनुसारको तलब तथा भत्ता उपलब्ध गराउनुपर्ने माग महासंघले अघि सारेको छ ।

यी माग र विगतका सहमति कार्यान्वयनमा सरकारले इमानदारिता नदेखाए थप कडा आन्दोलनमा जान बाध्य हुने महासंघले चेतावनी दिएको छ ।