काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय कार्यालयमा धर्ना दिएको छ ।
आईतवार काठमाडौंस्थित रास्वपाको केन्द्रिय कार्यालय घण्टीघरमा महासंघको आह्वानमा पत्रकारहरूले सांकेतिक धर्ना दिएका हुन् । धर्नालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चारमाध्यममाथि हस्तक्षेप गर्ने, सूचनामा अंकुश लगाउने र पत्रकारलाई पक्राउ गर्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले प्रेस काउन्सिलसम्बन्धी संशोधन अध्यादेशमार्फत पत्रकारको लेख्ने अधिकारसमेत खोस्न खोजिएको बताउनुभयो ।
संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका अधिकारमाथि प्रहार हुने गरी सरकारले कानुनी व्यवस्था ल्याएको उहाँको आरोप छ । अध्यक्ष शर्माले सरकार गठन भएको आठ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका समस्या सम्बोधन नभएको भन्दै सरकारलाई समर्थन गर्ने दलको ध्यानाकर्षण गराउन सांकेतिक धर्ना दिइएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल पत्रकार महासंघ यतिबेला सबै पत्रकारहरुका मुद्दा लिएर आन्दोलनमा छ । हामी आन्दोलनमा गइरहेको समयमा सरकार बनेको ८ महिना पूरा भइसकेको छ । तर मिडियामाथि सरकारले गरेका हस्तक्षेप, मिडियाले पाउने सूचनामा अंकुश लगाउने, पत्रकारहरु पक्राउ गर्ने, त्यतिले मात्रै पुगेन, सरकारले अध्यादेश ल्याएर लेख्ने अधिकार खोस्ने काम गरिरहेको छ । संविधानले दिएका अधिकार पनि कुठाराघात हुनेगरी प्रेस काउन्सिललाई संशोधन गर्न बनेको अध्यादेश ल्याइएको छ । करिव दुई तिहाईको सरकारलाई संसदमा कुनैपनि कानून ल्याउन बाधा छैन भन्नेकुरा हामीले बुझेका छौँ । संविधानले दिएका भावनालाई अक्षरशः पालना गर्दै कानून ल्याउन सरकारलाई केही पनि रोकेको छैन । तर आज हामीले यो हप्ताको आन्दोलन हामीले, सरकारले त सुनेन सुनेन तर सरकार जसले बनाएको थियो, उसको पार्टीलाई सुनाउन सिम्बोलिक धर्ना कार्यक्रम गरेका हौँ । दुई तिहाईको सरकार छ, नेपाल पत्रकार महासंघले पनि यो निर्वाचन अगाडि नै भन्न चाहन्छौँ, सरकारले यदी अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन हुनेगरी काम गर्दैन भने नेपाल पत्रकार महासंघ र पत्रकारहरुको सहयोग नै हुन्छ । मिडियालाई बन्द गराउने सरकारको जुन नियत छ, पत्रकार महासंघ त्यसकाविरुद्ध नियमित रुपमा आन्दोलनमा उत्रिरहेको छ ।’
महासंघले अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकारका अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्