काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथिति हटाउन सरकारले नीतिगत तथा कानूनी सुधारको काम अघि बढाइरहेको बताउनुभएको छ ।
आईतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले वर्षौंदेखि थुप्रिएका समस्या र विगतका कमी कमजोरी सच्याउँदै श्रम तथा रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन लागिएको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगार ऐन १९ वर्षपछि व्यापक संशोधन गर्न लागिएको जानकारी दिनुभयो । त्यस्तै, संघीयता कार्यान्वयनमा आएपछि संशोधन हुन नसकेको राष्ट्रिय युवा ऐनलाई पनि समय र आवश्यकताअनुसार परिमार्जन गरिरहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय रोजगार ऐन निर्माणको काम भइरहेको उल्लेख गर्दै मन्त्री यादवले सामाजिक उद्यमशीलतालाई पनि उक्त ऐनमा समेट्ने घोषणा गर्नुभयो । उहाँले राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष ३५ वर्षमुनिको युवा हुने व्यवस्था प्रश्ताव गरिएको जानकारी दिँदै नयाँ अवसर सिर्जना गर्नुका साथै ती अवसरलाई दिगो बनाउन बलियो नीतिगत आधार तयार गर्नु सरकारको प्राथमिकता रहेको बताउनुभयो । मन्त्री यादवले नीति, ऐन तथा नियमावलीमा सुधार गरी प्रणालीप्रति नागरिकको विश्वास बढाउने काम भइरहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथितिहरु हटाइरहेका छौँ । वर्षौंदेखि थुप्रिएका फोहोर सफा गरिरहेका छौँ । विगतका काम, कमी कमजोरी सच्याइरहेका छौँ । समय र आवश्यकताअनुसार नीति, ऐन र नियमावली सुधार गरिरहेका छौँ । प्रणालीप्रति नागरिकको विश्वास बढाउन काम गरिरहेका छौँ । नभएको राष्ट्रिय रोजगार ऐन निर्माण गरिरहेका छौँ । आज उठेको सामाजिक उद्यमशिलता आउने राष्ट्रिय रोजगारमा समेट्नेछु भनेर यहीबाट घोषणा गर्दछु । वैदेशिक रोजगार ऐनमा १९ वर्षपछि म सायद पहिलो मन्त्री हो, व्यापक संशोधन गरिरहेको छु । संघीयता आएपश्चात संशोधन नभएको राष्ट्रिय युवा ऐनलाई समय सापेक्ष र आवश्यकताअनुसार संशोधन गरिरहेका छौँ । जसमा राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष नेपालकै इतिहासमा पहिलो पटक ३५ वर्ष मुनिको युवा हुनेछ भनेर प्रश्ताव गरिएको छ । पोलिसी रिफर्मका कामहरु पनि उत्तिकै महत्वपूर्ण छन् । नयाँ अवसरहरु सिर्जना गर्नु जति आवश्यक छ, ति अवसरहरु फस्टाउन बलियो आधार तयार गर्नु पनि त्यत्तिकै आवश्यक छ । हामी त्यही गरिरहेका छौँ ।’
मन्त्री यादवले सरकारले युवासँग मिलेर नीति बनाउन चाहेको बताउनुभयो । नयाँ अवसरको सिर्जना गर्न पनि सरकार युवासँग मिलेर अघि बढ्ने उद्घोष गर्नुभयो ।






प्रतिक्रिया दिनुहोस्