Logo १३ मंसिर २०८३, आइतबार | Sun, Nov 29, 2026


एनपीएल उपाधि विजेता सुदूरपश्चिम रोयल्सलाई बाजुरामा भव्य स्वागत तथा सम्मान


0
Shares

जनक बोहरा, बाजुरा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्स क्रिकेट टोलीलाई बाजुरामा भव्य स्वागत तथा सम्मान गरिएको छ ।

ऐतिहासिक जितपछि ट्रफीसहित सुदूरपश्चिमका नौवटै जिल्लाको भ्रमणमा निस्किएको टोली पहिलो दिन अछामको वैद्यनाथधाम हुँदै बाजुरा सदरमुकाम मार्तडी पुगेको हो ।

बाजुरा पुगेको टोलीलाई बडीमालिका नगरपालिकाले विशेष सम्मानसहित स्वागत गर्दै मायाको चिनो प्रदान गरेको छ ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको रोयल्स टोलीलाई सुदूरपश्चिम प्रदेशको गौरवका रूपमा लिइएको छ । टोलीको सफलताले प्रदेशको पहिचान र सम्भावनालाई राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुगेको बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले बताउनुभयो ।

उहाँले सुदूरपश्चिम रोयल्सको सफलता खेलकुदको जितमा मात्र सीमित नरही समग्र प्रदेशकै गौरवको विषय बनेको उल्लेख गर्दै टोलीलाई शुभकामना दिनुभयो ।

टोलीको ट्रफी भ्रमणले जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय युवा खेलाडीलाई खेल क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने बाजुरावासीको अपेक्षा छ ।

रोयल्सले मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने ट्रफी टुरमार्फत उपाधिको ट्रफी सुदूरपश्चिमका नौवटै जिल्लामा पुर्‍याउने कार्यक्रम बनाएको छ ।

शनिबार बिहान अछामस्थित वैद्यनाथधाममा पूजाआराधना तथा स्वस्तिवाचन गरेपछि ट्रफी यात्राको औपचारिक सुरुवात गरिएको थियो । मन्दिरबाट ट्रफीसहित निकालिएको र्‍याली साँफेबगरसम्म पुगेको थियो ।

टोलीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार मंसिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला र १७ गते बझाङमा ट्रफी प्रदर्शन गरिनेछ । मंसिर १८ गते डडेल्धुराको परशुरामधाममा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ ।

त्यसपछि मंसिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी यात्रा हुनेछ । कैलालीको टीकापुर पार्कबाट सुरु हुने र्‍याली चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ । त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधारा–चाँदनी पुलसम्म ट्रफीसहित र्‍याली निकालिनेछ ।

ट्रफी यात्राको अन्तिम दिन मंसिर २० गते धनगढीमा र्‍याली तथा सांगीतिक कार्यक्रम आयोजना गरी समापन गरिने रोयल्सले जनाएको छ ।