काठमाडौं । सहआयोक कर्णाली प्रदेशले घरेलु कोर्टमा भएको दशौं राष्ट्रिय खेलकुदको महिला बास्केटबल (थ्री अन थ्री) मा स्वर्ण पदक जित्ने अवसर गुमाएको छ ।
आईतवार सम्पन्न थ्री अन थ्री महिला बास्केटबलको फाइनलमा कर्णाली विभागीय टोली नेपाल आर्मी क्लबसँग १३–९ स्कोरले पराजित हुन पुग्यो । आर्मीकी दिब्यान्सा कार्कीले ७ स्कोर गरिन् । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको खेलमा आर्मी अपराजित रहँदै स्वर्ण जित्न सफल भयो । यता, फाइनलमा पराजयसँगै कर्णालीले स्वर्ण जित्ने अवसर गुमायो । अहिलेसम्म कर्णालीले स्वर्ण पदक जित्न सकेको छैन । महिला थ्री अन थ्री बास्केटबलमा फाइनलमा पुगे पनि कर्णाली असफलभयो । यसै विधामा एपिएफले काँस्य जित्यो । कांस्य पदकको प्रतिस्पर्धा एपिएफले बागमतीलाई १६–७ ले हराएको हो । एपिएफकी इसान्ना श्रेष्ठ सात अंक बटुलिन् ।
महिला बास्केटबलको पदकमा विभागीय टोलीको वर्चस्व रह्यो । महिला बास्केटबलको फुल कोर्टतर्पm भने एपिएफले स्वर्ण जित्यो । फाइनलमा एपिएफले आर्मीलाई ५७–२९ ले सहजै पराजित गर्यो । एपिएफ अपराजित रहँदै च्याम्पियन बन्यो । एपिएफकी मीरा गुरुङले सर्वाधिक १७ स्कोर गरिन् । पहिलो क्वार्टरमा एपिएफले १०–५ को अग्रता लिएको थियो । एपिएफले दोस्रो र तेश्रो क्वाटर क्रमशः १८–३ र १६–४ ले आफ्नो पक्षमा पार्यो । चौथो क्वाटरमा एपिएफ १३–१७ ले पछि पर्यो । तर पनि एपिएफलाई स्वर्ण जित्न पर्याप्त भयो । यस विधामा नेपाल पुलिस क्लवले कांस्य पदक सुरक्षित गर्यो ।
तेस्रो स्थानको प्रतिष्पर्धामा पुलिसले सुदूरपश्चिमलाई ६७–२८ ले हरायो । पुलिसकी दिभा महर्जनले ११ स्कोर गरिन् । मंसिर ८ गतेदेखि शुरु महिला बास्केटबलको फुल कोर्ट र हाफ कोर्ट दुवैमा समान १० टिम सहभागी थिए । सातै प्रदेश, आर्मी र एपीएफले लिग कम नकआउट आधारमा प्रतिष्पर्धा गरेका थिए । पुरुष बास्केटबल कर्णाली प्रदेश रंगशाला हातामै मंगलवारदेखि शुरु हुनेछ । पुरुषमा पनि महिलामा सहभागिता जनाएका टिमले नै भाग लिनेछन् ।






प्रतिक्रिया दिनुहोस्