काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्ध र विकसित बनाउन युवा पुस्ता अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा र्यापर जेम्सीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । युवाहरूले देश चलाउन, परिवर्तन गर्न र समृद्ध बनाउनसक्ने क्षमता राख्ने उल्लेख गर्दै उहाँले युवाहरूको ऊर्जा र पुरानो पुस्ताको अनुभवलाई संयोजन गर्नसके नेपाललाई विकसित, समृद्ध र समावेशी मुलुक बनाउन सकिने बताउनुभयो ।
उहाँले समाजमा विद्यमान उत्पीडन, असमानता र विभेद अन्त्य गर्दै सबैको अधिकार सुनिश्चित गर्नु, समान अवसर प्रदान गर्नु तथा राज्यका निकायमा सबैको प्रतिनिधित्व कायम गर्नु नै समाजवाद निर्माणको आधार भएको समेत बताउनुभयो । उहाँले जसपा मुलुकमा समाजवाद निर्माणका लागि क्रियाशील रहेको जिकिर गर्दै समाजवाद निर्माणको यात्रामा सहभागि हुन समेत सबैमा आह्वान गर्नुभयो ।
अध्यक्ष यादवले युवा उमेरमै विश्व इतिहासमा महत्वपूर्ण परिवर्तन ल्याएका व्यक्तिहरूको उदाहरण दिँदै कार्ल माक्र्सले ३० वर्षको उमेरमा कम्युनिस्ट घोषणापत्र लेखेको, अलेक्जेन्डरले २७ वर्षमै आधा संसार जितेको र गौतम बुद्धले ३६–३७ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा पनि विभिन्न राजनीतिक दल युवाहरूले स्थापना गरेको भन्दै युवाहरूलाई राजनीतिक नेतृत्व र देश निर्माणमा सक्रिय भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘समाजमा विद्यमान उत्पीडन, असमानता तथा सबै प्रकारका विभेदहरु अन्त्य गर्दै सबैको अधिकारको रक्षा, सबैका लागि समान अवसर, स्वतन्त्रता, राज्यका निकायमा सबैको प्रतिनिधित्व, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्नु भनेकै समाजवादको निर्माण गर्नु हो । नेपाललाई समृद्ध, विकसित र समावेशी मुलुक बनाउनको लागि युवाहरुको महत्वपूर्ण भूमिका हुनुपर्छ । उमेरले केही हुँदैन । एकदुई वटा उदाहरण दिन चाहान्छु, संसारको प्रसिद्ध र विश्वका सबै कम्युनिष्टहरुले अहिले पनि मानेको कम्युनिष्ट मेनिफेस्टो त्यो बेला लेखिएको हो जतिबेला कार्ल माक्र्सको उमेर ३० वर्षको थियो । त्यतिबेला लेखिएको मेनिफेस्टो सारा संसारले अहिले पनि पढिरहेका छन् । त्यसले संसार नै हल्लाइदियो । अलेक्जेन्डरले करिब आधा संसार जितिसक्दाखेरी उनको उमेर जम्मा २७ वर्ष थियो । भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गर्दाखेरी भर्खर ३६, ३७ वर्षको हुनुहुन्थ्यो । नेपालमा रहेका कयौँ पार्टीहरु युवाहरुले खोल्नुभएको थियो । त्यसकारण युवाहरुको अगाडि असम्भव केही पनि छैन । त्यसकारण हाम्रो पार्टीले सधैं के भनिरहेको छ भने देश चलाउन सक्छन्, परिवर्तन गर्न सक्छन्, देश बनाउन पनि सक्छन् । यो सबै उर्जा र क्षमाता युवाहरुमा हुन्छ । त्यसकारण हाम्रो पार्टीले सधैं के भनिरहेको छ भने पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको उर्जा दिने हो भने नेपाल आजको जस्तो अल्पविकसित, पिछडिएको तथा गरिब भनेर सधैं रहन सक्दैन । नेपालमा प्राकृतिक स्रोतहरु प्रचुर मात्रामा रहेका छन्, जसलाई उपयोग गर्ने हो भने नेपाल संसारको समृद्ध मुलुक बन्नसक्छ । संसारका धेरै मुलुकहरुमा त माटो समेत छैन ।’
उहाँले नेपाल रहेको प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्नेमा समेत जोड दिनुभयो । सोही कार्यक्रममा नेपाली र्यापर जेम्सी अर्थात नोबल बस्नेत जसपा प्रवेश गर्नुभयो ।






प्रतिक्रिया दिनुहोस्