काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले देउवा नेतृत्वको पार्टी नै आधिकारिक कांग्रेस भएको दाबी गरेको छ ।
मंसिर २१ देखि २३ गतेसम्म छुट्टै १५औँ महाधिवेशन गर्ने तयारीमा रहेको देउवा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको दाबी गर्नुभएको हो ।
आइतबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले आधिकारिकताका विषयमा कसैलाई पनि भ्रममा नपर्न आग्रह गर्नुभयो ।
मुलुक र पार्टी कठिन परिस्थितिमा रहेका बेला गगन थापाले आफैँलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाएको उहाँको आरोप थियो । देउवा नेतृत्व नै आधिकारिक कांग्रेस भएको विषयमा पार्टीका कुनै पनि कार्यकर्ता भ्रममा पर्न नहुने उहाँले बताउनुभयो ।
गगन थापाले जबर्जस्ती आफैँलाई सभापति घोषणा गर्नु सामान्य संयोग नभएको उल्लेख गर्दै कोइरालाले यसका पछाडि विभिन्न प्रपञ्च रहेको दाबीसमेत गर्नुभयो ।
मंसिर २१ गतेदेखि सुरु हुने १५औँ महाधिवेशन कांग्रेसको इतिहासमा नयाँ आयाम बन्ने उहाँको भनाइ थियो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई ढुक्क भएर महाधिवेशनमा सहभागी हुन आह्वान गर्नुभयो ।






प्रतिक्रिया दिनुहोस्