Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


सभामुख अर्याल र अस्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता


0
Shares

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबिच भेटवार्ता भएको छ ।

तान्जानियाको अरूसामा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा सहभागी रहेका सभामुख अर्यालले अष्ट्रेलियाली समकक्षीसँग शिष्टाचार भेट गर्नुभएको हो ।

भेटमा सभामुख अर्यालले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र अष्ट्रेलियाबीच पारस्परिक सम्मान, मित्रता तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर अघि बढिरहेको बताउनुभयो।

भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहयोग तथा खोज तथा उद्धार कार्यमा पुर्‍याएको योगदानप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो। साथै, बाढीमा परी बेपत्ता भएका अष्ट्रेलियाली नागरिकका परिवारप्रति समवेदना प्रकट गर्दै विपद्को समयमा अष्ट्रेलियाले देखाएको ऐक्यबद्धताको प्रशंसा गर्नुभयो।

जलवायु परिवर्तनका कारण नेपालसहित हिमाली मुलुकहरूमा गम्भीर असर परिरहेको उल्लेख गर्दै सभामुख अर्यालले जलवायु परिवर्तनका विषयमा हुने अन्तर्राष्ट्रिय पहल र बहसमा अष्ट्रेलियाबाट थप सहयोग तथा सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो।

भेटवार्तामा नेपाल–अष्ट्रेलिया संसदीय सम्बन्धलाई थप विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन हुनु दुई देशबीचको संसदीय सहकार्यलाई संस्थागत रूपमा अघि बढाउने महत्वपूर्ण आधार भएको बताउनुभयो।

सांसदहरूबीच नियमित संवाद तथा अनुभव आदानप्रदानसँगै संसदीय कूटनीतिमार्फत दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन सकिने उहाँको भनाइ थियो।

सभामुख अर्यालले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी तथा नेपाली मूलका समुदायले दुई देशबीच जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको पनि उल्लेख गर्नुभयो।

भेटमा अष्ट्रेलियाली सभामुखले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको बताउनुभएको थियो।

सभामुख अर्यालले पनि द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप उचाइमा पुर्‍याउन नेपालको प्रतिबद्धता व्यक्त गर्नुभयो।