
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ढुंगेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् ।
पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेपछि प्रहरीले बल्ल ढुंगेललाई पक्रेको हो ।
२०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित ढुंगेल सभासद रहेकै बेला अदालतबाट दोषी प्रमाणित भएका थिए ।
ढुंगेलसँगै सजाय पाएका माओवादीका अर्का नेता पुष्कर गौतम भने अहिले पनि जेलमै छन् । ढुंगेलको भने सजायँ माफी गराउन तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपतिसमक्ष सिफारिस नै गरेको थियो ।
तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न आदेश दिएपछि ढुंगेल फरारको सूचीमा थिए । नेताका वरिपरी नै घुमिरहने ढुंगेललाई प्रहरीले पनि फेला नपरेको भन्दै पक्रेको थिएन ।
अदालतले दोषी किटान व्यक्तिलाई समेत पक्रेर कार्वाही नगरेकामा पीडित पक्ष र मानवअधिकारवादीहरुले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदा पनि यसअघि कुनै कार्वाही भएको थिएन ।
तर यस पटक भने कानूनव्यवसायी दिनेश त्रिपाठीले प्रहरी प्रमुखविरुद्ध नै अवहेलनाको मुद्दा हालेपछि बल्ल ढुंगेललाई पक्राउ गरिएको हो ।
सर्वोच्चले ढुंगेललाई २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्