२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


पुलिसले थ्रीस्टारलाई हरायो, दोस्रोदेखि पाँचको भिडन्त रोमान्चक


0
Shares

काठमाडौं, पुस १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितिसकेको अवस्थामा दोस्रोदेखि पाँचको भिडन्त रोमान्चक देखिएको छ ।

शुक्रबार ललितपुको सातदोबाटोस्थित एन्फा मैदानमा भएको दोस्रो खेलमा तेस्रो स्थानको थ्रीस्टार क्लबमाथि नेपाल पुलिस क्लब हावी भएपछि भिडन्त रोमान्चक बनेको हो ।

११औं चरणको खेलमा पुलिसले थ्रीस्टारलाई ३–१ ले हरायो ।

मध्यान्तरसम्म १–१ को बराबरी खेलेको पुलिसले मध्यान्तरपछि ९ मिनेटको अन्तरमा दुई गोल गरेको थियो ।

पुलिसका लागि निरकुमार राई, अभिषेक रिजाल र भोला सिलवालले एक/एक गोल गरे ।

निरकुमारले खेलको २०औं, अभिषेकले ४६औं मिनेटमा पेनाल्टीमा र भोलाले ५५औं मिनेटमा गोल गरेका हुन् ।

यसअघि, खेलमा आबाङ अल्बर्टले १३औं मिनेटमै गोल गर्दै थ्रीस्टारलाई प्रारम्भिक अग्रता दिलाएका थिए ।

दबाबमा खेलेको थ्रीस्टारले ८६औं मिनेटमा पेनाल्टी हाने पनि लिगको सर्वाधिक गोलकर्ताको अग्र स्थानमा रहेका रन्जित धिमाल गोल गर्न चुके ।

यो जितले पुलिस ११ खेलबाट १८ अंकसहित पाँचौं स्थानमा पुगेको छ । हारले थ्रीस्टारको दोस्रो स्थानमा पुग्ने चाहनामा झड्का लागेको छ ।

३३ अंकसहित मनाङ शीर्ष स्थानमा रहँदै च्याम्पियन बनिसकेको छ भने दोस्रो स्थानको संकटा क्लबको २५ अंक छ ।

तेस्रो स्थानको थ्रीस्टारको २३ अंक हुँदा चौथो स्थानको त्रिभुवन आर्मी क्लबको २१ अंक छ ।

आर्मीको शानदार जित

आर्मीले ११औं खेलमा शुक्रबार एन्फा मैदानमै सरस्वती युथ क्लबलाई ४–० ले हरायो । आर्मीलाई जिताउन कप्तान भरत खवासले दुई तथा नवयुग श्रेष्ठले एक गोल गरे ।

सरस्वतीका ओलुसोला इब्राहिमले एक आत्मघाती गोल गरेका थिए ।

समान १७ अंकसहित हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब क्रमशः छैटौं र सातौं स्थानमा छन् ।