
उनीहरुबाट विभिन्न ब्राण्डका मोबाईल ४ थान, विभिन्न कम्पनीका घडी ३ थान र चोरी कार्य गर्दा प्रयोग गर्ने फलामको रड १ थान बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा कवाडीका सामान संकलन गरी काठमाडौं महागरपालिका–९ तिलगंगा बस्नेहरु भारत बिहार समस्तीपुरका २६ वर्षीय दिनेश पोदार, समस्तीपुरकै १८ वर्षीय केतुल पोदार, समस्तीपुरकै १९ वर्षीय चन्तन पोदार, भारत मोतिहारी मुजफरपुरका १८ वर्षीय मुकेशकुमार पोदार, भारत बिहार हाजिपुरका १८ वर्षीय सुरज पोदार, हाजीपुरकै १८ वर्षीय बिकास पोदार र पशुपतिमा दाउराको काम गर्ने बाराको निजगढ नगरपालिका–९ का ३१ वर्षीय राजकुमार अधिकारी रहेका छन् ।
अभियुक्तहरुमध्ये मुकेशकुमार २०७३ बैशाख ८ गते चोरी मुद्दामा ९३ हजार रुपैयाँ धरौटीमा तथा निज राजकुमार ३ वर्षअघि केही सार्वजनिक मुद्दामा ३ हजार रुपैयाँ धरौटीमा जेलबाट छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
भारतमा चोरी गर्ने समूह बनाई नेपाल आउने र गौशाला, तिलगंगा, बानेश्वर, सिनामंगलका सुकुम्बासी बस्तीमा लुकीछिपी बस्ने, कवाडी टिप्ने बहानामा चोरी गर्ने घरको जानकारी लिने, घरमा कोही नभएको मौका पारी ढोका फोडेर प्रवेश गर्ने प्रहरी अनुसन्धानबाट खुलेको छ । कवाड टिप्ने बोरामा फलामको रड लिई जाने, बाहिर एकजनाले निगरानी गर्ने तथा अन्यले घरभित्र चोरी गर्ने, तत्काल भारततर्फ फरार हुने, चोरीको पैसाबाट जाँडरक्सी खाने तथा भारतमा जग्गा जमिन किनेर घर बनाउने गरेको पनि खुलेको छ । चोरीका सामानहरु भारतीय बजारमा बिक्री समेत गर्ने गरेको र उनीहरू १०/१२ बर्षकै उमेरदेखि चोरी कार्यमा संलग्न रहँदै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको सो महाशाखाले जनाएको छ ।
अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र उनीहरुका सम्बन्धमा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको सो महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्