१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


मन्त्रीले हलो जोतेर धान रोप्दै १५ औं धान दिवसको उद्घाटन


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, असार १५ । कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले हलो जोतेर धान रोप्दै १५ औं धान दिवस उद्घाटन गरेका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा कपिलबस्तुको सदरमुकाम तथा प्राचिन तिलौराकोटमा धान रोपाइँ गरिएको हो ।

२९ बर्ष भगवान गौतम बुद्धको क्रिडास्थल तथा प्राचिन कपिलबस्तुको राजधानी तिलौराकोट दरवारमा राजा शुद्धोधनको पालादेखि नै राजाले सुनको हलोले खेत जोतेर मनसुन सिजनको पहिलो खेती धान रोप्ने प्रचलन रहेको भन्दै मन्त्री खनालले यस बर्षदेखि सोही महोत्सव तिलौराकोट दरवारमा पुनः सुरुवात गरिएको बताए ।

तराईमा राजा शुद्धोधनले शुरु गरेको धान रोपी मंगलोत्सव मनाउने परम्परालाई विकास गरेर समृद्ध नेपाल र सुखी नेपाली भन्ने मुल नाराका साथ अगाडी लैजाने भन्दै उनले कृषिबाट प्रेरणा लिएर आधुनिकता, यान्त्रिकरण र व्यवसायिकरणतिर जानुपर्ने बताए ।

धान दिवसलाई गौरवको पर्व मान्दै कृषि व्यवसायमा संलग्नलाई प्रोत्साहन गर्न र खेतीयोग्य जमिन बाँझो नराख्न जनचेतना फैलाउने उद्देश्य रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले बताए ।

२६ सय बर्ष पहिलेकोे ऐतिहासिक घटनालाई स्मरण गर्दै लुम्बिनी बिकास कोषको आयोजनामा यस बर्षको धान दिवसमा तिलौराकोटमा ऐतिहासिक धान महोत्सव मनाइएको हो ।

भगवान गौतम बुद्धका पिता राजा शुद्धोधनको राजधानी प्राचिन तिलौराकोटमा ऐतिहासिक समयमा धान खेती गर्ने तौरतरिकालाई झल्को दिने गरि महोत्सव संचालन भएको हो । प्राचिन सभ्यता, संस्कृतिको संरक्षण र निरन्तरताका लागि पहिलो पटक यो महोत्सव आयोजना गरिएको लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताए ।

महोत्सवमा पञ्चेबाजा, थारु लाठी नाच, अहिरौवा नाच तथा विभिन्न जातजातिका झाँकी, नाचगान एवं नृत्य प्रस्तुत भएको थियो ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीको अध्यक्षता र कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री खनालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्यहरु विभिन्न कार्यालयका अधिकृत तथा संघ संस्थाका प्रतिनिधिलगायत स्थानीयहरुको बाक्लो उपस्थिति थियो ।