
बुधबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले हराउँदै भैरहवाले विजयी सुरुआत गरेको हो ।
काठमाडौंले दिएको ११९ रनको विजय लक्ष्य भैरहवाले १६ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
पुनित विष्टले अविजित रहँदै ४२ तथा आरिफ शेखले ११ बलमा अविजित २३ रन बनाए । कप्तान शरद भेषावकरले ३२ रन जोडे । काठमाडौंका सोमपाल कामी र सुशील कँडेलले समान एक/एक विकेट लिए ।
यसअघि, पहिले ब्याटिङ गरेको काठमाडौंले ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । अमित श्रेष्ठले २९, सागर कुमारले २८ तथा राजु रिजालले २२ रन बनाएको इनिङ्सलाई रोक्नेक्रममा दीपेश श्रेष्ठले ३ विकेट लिए । शरदले २ तथा आरिफ शेख र पुनित मेहराले समान एक/एक विकेट लिए । काठमाडौंको यो दोस्रो हार हो ।
बुधबारै भएको अर्को खेलमा पोखरा राइनोजलाई ३ विकेटले पराजित गर्दै विराटनगर वारियर्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।
पोखरा राइनोजले दिएको १२३ रनको लक्ष्य विराटनगरले १९ ओभर ४ बलमा ७ विकेटको क्षतिमा पूरा गर्यो । विदेशी खेलाडी अन्सुमन रथलले ६० रन बनाए ।
पोखराका लागि सुसन भारी र इसरुल्लाले २/२ तथा कप्तान शक्ति गौचन र सुनील धमलाले एक/एक विकेट लिए ।
यसअघि, पोखराले निर्धारित् २० ओभरमा ६ विकेटको क्षतिमा १२२ रन बनाएको थियो । पोखराका लागि राजेश पुलामीमगरले सर्वाधिक ३० रनको योगदान दिए । विराटनगरका कप्तान पारस खड्काले ३ तथा वसन्त रेग्मी, करण केसी र रामनरेश गिरीले एक/एक विकेट लिए ।
प्रतियोगिताअन्तर्गत् बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा ललितपुर प्याट्रियट्स र भैरहवा ग्लाडियटर्स तथा दोस्रो खेलमा चितवन टाइगर्स र काठमाडौं किंग्स इलेभेन भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्