Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


एनपीएल: इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज इलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ।

दोस्रो क्वालिफायरमा पुग्ने लक्ष्यसहित मैदान उत्रने दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ। जित निकाल्ने टोलीले फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो क्वालिफायरमा स्थान बनाउने अर्को अवसरको प्रतीक्षामा छ। दोस्रो क्वालिफायरको विजेताले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

लिग चरणमा काठमाडौंले सात खेलबाट चार जित र तीन हारसहित ८ अंक जोडेको थियो। यही प्रदर्शनका आधारमा टोली तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको हो।

यता चितवनले सात खेलबाट तीन जित, तीन हार र एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्दै चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो।

आजको खेलमा सफलता हात पार्ने टोलीले उपाधि दाबेदारी कायम राख्दा पराजित हुने टोलीको यात्रा समाप्त हुनेछ।

Skip This