३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


उत्तर कोरियाले दक्षिण कोरियामा उच्च अधिकारी पठाउने


0
Shares

यस शीतकालीन ओलिम्पिक खेलकुदकाक्रममा दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको र विगतको तनाव पनि केही हदसम्म कम हुँदै गएका बेला यसरी उत्तर कोरियाले आफ्ना उच्च अधिकारीलाई त्यहाँ पठाउन लागेको हो ।

उत्तर कोरियाले आफ्ना संसदका प्रमुख किम यङ–नामलाई उत्तर कोरियाली प्रमुख प्रतिनिधिकारुपमा त्यहाँ पठाउन लागेको हो ।

उत्तर कोरियाली संसदका प्रमुख नाम विगत चार वर्षमा दक्षिण कोरियाको भ्रमण गर्ने सबैभन्दा उच्चपदस्थ उत्तर कोरियाली सरकारी अधिकारी हुने बताइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ‘ब्लू हाउस’का एक अधिकारीले नामको यस आसन्न भ्रमणले दुई कोरियाबीचको तनाव अन्त्य गर्ने उत्तर कोरियाली चाहना र उसको इमानदारीलाई दर्शाएको जानकारी दिएका छन् ।

उत्तर कोरियाली यी उच्चस्तरीय अधिकारी नामले २२ सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्ने दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले उनको भ्रमणको पुष्टि गरेको बताइएको छ ।

किम यङ–नामको नेतृत्वको उक्त टोलीमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न हुने जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ ।

उक्त प्रतिनिधिमन्डलको भ्रमण शुक्रबारदेखि सुरु भइ आइतबार सम्पन्न हुनेछ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने जानकारी उत्तर कोरियाको सरकारी निकायले आफैंले औपचारिकरुपमा सार्वजनिक गरेको छैन ।

तर, उसले दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयलाई आइतबार राति जानकारी दिएको दक्षिण कोरियाको एकता मन्त्रालयका एकजना अधिकारीले बताएका छन् ।

त्यसैगरी, यसअघि नै शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झन्डामुनि ’मार्च’ गर्ने तय भएको छ । त्यस्तै, निकै लामो समयपछि हालैमात्र उत्तर कोरियाली झन्डा दक्षिण कोरियामा फहराइएको छ ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रि रुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।

यसैबीच, दुवै कोरियाका तर्फबाट महिलातर्फको संयुक्त आइस हकी खेलको टोलीले पहिलो खेल आइतबारमात्र खेलेको थियो । स्वीडेनसँगको मैत्रीपूर्ण खेलमा उक्त टोली पराजित भएको थियो । रासस/सिन्ह्वा