
काठमाडौं, मंसिर २० । एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको तेस्रो संस्करणको ट्रफी बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ ।
प्रतियोगितमा सहभागी ६ ओटै टोलीका कप्तान तथा मार्की खेलाडीहरुले विजेताले पाउने ट्रफी सार्वजनिक गरेका हुन् ।
शनिबारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रिएट्स भिड्नेछन् ।
शनिबार उद्घाटन खेलमात्रै हुनेछ भने आइतबारदेखि एकैदिन दुई खेल हुनेछन् ।
प्रतियोगितामा योपटक पनि पुरानै ६ टोलीहरु काठमाडौं किंग्स, ललितपुर प्याट्रिएट्स, भैरहवा ग्ल्याडिएटर्स, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्सले प्रतिस्पर्र्धा गर्दैछन् ।
राष्ट्रिय टोलीका नियमित कप्तान पारस खड्काले इपीएलमा विराटनगरको कप्तानी सम्हाल्नेछन् भने राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले ललितपुरको नेतृत्व सम्हाल्नेछन् ।
यसैगरी, चितवनका कप्तान पृथु बास्कोटा, काठमाडौंका सोमपाल कामी, भैरहवाका शरद भेषावकर र पोखराको कप्तानी स्कटल्यान्डका खेलाडी केली कोट्जेरले गर्ने भएका छन् । पोखरा राइनोज गत संस्करणमा शक्ति गौचनको कप्तानीमा रहेको थियो ।
प्रतियोगितामा सहभागी हुन झन्डै आधादर्जन राष्ट्रका डेढदर्जन विदेशी खेलाडी काठमाडौं आइसकेका छन् ।
योपटक भारत, युएई, हङकङ, जिम्बाब्वे, इंग्ल्यान्ड, दक्षिण अफ्रिकालगायत देशका खेलाडीहरुले इपीएल क्रिकेटमा सहभागिता जनाउँदैछन् ।
‘लिग कम नकआउट’का आधारमा हुने प्रतियोगिताको लिग चरणका शीर्ष दुई टोलीले फाइनल प्रवेशको लागि क्वालिफायर खेल्नेछन् भने तेस्रो र चौथो हुने टोलीले पनि ‘प्लेअफ’मा अवसर पाउनेछन् ।
इपीएल क्रिकेटको पहिलो संस्करण शरद भेषावकरको कप्तानीमा रहेको तत्कालीन पञ्चकन्या तेजले जितेको थियो भने दोस्रो संस्करण पारसको कप्तानीमा रहेको विराटनगरले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्