२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


शारीरिक सम्पर्क गर्न नमानेको भन्दै श्रीमती कुट्ने श्रीमान् कारागार चलान


0
Shares

आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक–पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३८ वर्षीय सुमन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखिएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश भोजराज शर्माको एकल इजलासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को २ को व्यवस्थानुसार कानुनबमोजिम सिधा पाउने गरी अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी अदालती व्यवस्था १२४ बमोजिम आदेश दिइएको अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

आफूलाई श्रीमती परपुरुषसँग लागेको शंका भइ पटक–पटक झगडा पर्दै आएको अभियुक्त सुमनले प्रहरी र अदालतमा दिइएको बयानमा उल्लेख गरेका छन् ।

श्रीमती जयन्तीले भने वि.सं. २०६२ मा विवाह भइ एक छोरी र एक छोरा जन्म भइसकेपछि पनि श्रीमान्ले माइत जाँदा वा अरु कोहीसँग बोल्दा पनि शंका गर्ने र बेलाबेलामा कुटपिट गर्ने गरेको बयानमा उल्लेख गरेकी छन् ।

पुस २६ गते पनि आवेगमा आएर श्रीमान्ले स्टिलको पाइपले टाउकामा हानेर बेहोस र मरणासन्न अवस्थामा पुर्‍याइ कोठामै छाडेर हिँडेपछि परिवारका अन्य सदस्यले जयन्तीलाई मध्यपुर अस्पताल पुर्‍याएको प्रहरीको भनाइ छ ।

घाइते जयन्तीको चार ठाउँमा टाउको फुटेको र २० भन्दा टाँका लगाइएको छ ।

बहिनीको अवस्था गम्भीर भएपछि जयन्तीका दाजु मनोज श्रेष्ठले ज्यान मार्ने उद्योगअन्तर्गत् सुमनविरुद्ध जाहेरी दिएका थिए ।

दोषी ठहर भए सुमनलाई पाँचदेखि १० वर्षसम्म कारागार सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको स्रेष्तेदार बोहराले जानकारी दिए । रासस