१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रेमीसँग मिलेर आफ्नै श्रीमान्लाई मार्न लगाएपछि…


0
Shares

पक्राउ पर्नेमा उमेशकी श्रीमती प्रियंका चौरसिया, उनका प्रेमी बारा, परवानीपुर–१ का विकेन्द्रकुमार गुप्ता, सोही ठाउँका मनोज गुप्ता र वीरगन्ज–१२, मुर्लीका मुन्ना साह कानु रहेका छन् ।

बुधबार राति भैरहवाबाट घर (वीरगन्ज) फर्कंदै गरेका उमेशमाथि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासपछाडि गोली प्रहार भएको थियो ।

उमेश १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा दुबई बसेर फर्केका हुन् ।

नेपाल फर्केर धागोको व्यापार थालेका उमेशको हत्या हत्या गरेर विवाह गर्ने योजनाअनुसार विकेन्द्र र प्रियंकाले मनोज गुप्तालाई हत्याको ‘सुपारी’ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

उमेश दुबईमा रहेकैबेला विकेन्द्र र प्रियंकाबीच ‘अवैध सम्बन्ध’ गाँसिएको पाइएको पनि प्रहरीले जनाएको छ ।

हत्यामा प्रयोग भएको एउटा पेस्तोल र एउटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

गोली प्रहारबाट घाइते भएका उमेशलाई काठमाडौं लगेर उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनको पेट र कोखामा गोली लागेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।

उनकी श्रीमती प्रियंकालाई प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको हो भने अरु अभियुक्तलाई वीरगन्जबाट पक्रेको हो ।

विवाहपश्चात् श्रीमान् दुबई बस्दै आएको समयमा प्रियंका वीरगन्जको अपोलो अस्पतालमा कार्यरत् सीएमए विकेन्द्रसँग प्रेममा परेको र मनोज गुप्तालाई २५ हजार रुपैयाँमा श्रीमान्को हत्या गर्ने जिम्मा दिएको अनुसन्धानमा खुलेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए ।

हत्याको जिम्मा लिएका मनोज र प्रियंकाका प्रेमी विकेन्द्रले ११ हजार रुपैयाँमा १२ बोरको एउटा कटुवा पेस्तोल खरिद गरेका थिए ।

उमेश एक महिनाअगाडि दुबईबाट फर्केका थिए । उनी काम विशेषले भैरहवा गएकाबेला प्रियंकाले उमेश फर्कने समय र ‘लोकेसन’काबारे गोली प्रहार गर्ने मनोजलाई बताएकी थिइन् ।

उमेश भैरहवाबाट फर्केर घर छिर्न लागेकाबेला बुधबार राति साढे ९ बजेतिर प्रियंकाका प्रेमी विकेन्द्रको बा३४प नम्बरको मोटरसाइकलमा चढेर मनोज र मुन्ना साहले उमेशमाथि गोली प्रहार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।