
कुटाकुटमा एकजना गम्भीर घाइते भएका छन् भने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर मापसे जाँचपछि तारेखमा छाडेको छ ।
दिनभरि उठाएर राखेको घुस रकम बाँडफाँटमा कुरो नमिलेपछि बिहीबार कार्यालय समयभित्रै कर्मचारीबीच एकापसमा कुटाकुट भएको थियो । त्यसपछि प्रहरीले छापा मारेर ६ जना कर्मचारीलाई पक्राउ गरेको हो ।
मालपोत कार्यालयकै एकजना कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको बताउँदै कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको जानकारी दिए ।
उनीहरुलाईलाई आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीमा उपस्थित गराइने प्रवक्ता बोहराले बताए ।
सँगै जोडिएका मालपोत र नापी कार्यालयमा कुटाकुट हुन थालेको जानकारी पाएपछि वडा प्रहरी कार्यालयबाट गएको टोलीले कार्यालयभित्रैबाट बियर र रक्सीका बोतलसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीकाअनुसार पक्राउपर्ने कर्मचारीहरुमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँवर र ज्ञानेन्द ओझा हुन् ।
उनीहरुलाई कार्यालय परिसरमै मदिरा सेवन गरेर होहल्ला गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर नजिकै रहेको सेती अञ्चल अस्पतालमा मापसे जाँचपछि जिल्ला प्रहरी कार्यालय पुर्याइएको थियो ।
पक्राउ परेकामध्ये कुटपिटबाट हात भाँचिएका भट्टलाई उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका कर्मचारीसँग घुसबापत् लिएको लाखौं रुपैयाँ रकम रहेको मालपोत कार्यालयका एक कर्मचारीको दाबी छ ।
मालपोत कार्यालयको रजिष्ट्रेसन फाँटमा लिएको घुस रकमका विषयलाई लिएर कर्मचारीबीच कुटाकुट भएको पनि ती कर्मचारीले बताए ।
बिहीबार मालपोत कार्यालयको एउटा कोठामा मदिरा सेवन गर्दै हिसाब गर्नेक्रममा नापी कार्यालयका कर्मचारीले उठाएको घुस रकम दिन नमानेपछि एकापसमा कुटाकुट भएको कर्मचारी स्रोतले जानकारी दिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले मदिरा सेवन गरेका कर्मचारी पक्राउ गरिएको बताउँदै उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा झिकाइने बताए ।
उनले मदिरा सेवन गरेर कार्यालय समयमा कार्यालयभित्रै झगडा गरेकाले ती कर्मचारीहरुलाई निजामति ऐनअनुसार कारबाही गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्