२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रहरी ‘इन्काउन्टर’मा मारिएका ‘गुन्डानाइके’ पुनका पाँच सहयोगी समातिए


0
Shares

पक्राउ परेका पाँचैजना प्रहरी ‘इन्काउन्टर’मा मारिएका ‘गुन्डानाइके’ मनोज पुनका सहयोगी भएको बताइएको छ । पुनले उनीहरुलाई सुराकीकारुपमा प्रयोग गरेका थिए ।

बुटवल र देवदहका विभिन्न स्थानबाट मंगलबार पक्राउ परेका उनीहरुलाई बुधबार इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–७, शिवनगर निवासी उत्तम आचार्य, देवदह नगरपालिका–५ बस्ने तुल्सी न्यौपाने र देवदह नगरपालिका–४ निवासी लेखनाथ न्यौपाने, बुटवल उपमहानगरपालिका–४ बस्ने हरिप्रसाद श्रेष्ठ र देवदह नगरपालिका–६ का रोशन खड्का रहेको रुपन्देहीका प्रहरी उपरीक्षक श्यामप्रसाद ज्ञवालीले जानकारी दिए ।

देवदह नगरपालिका–४ निवासी न्यौपाने माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् भने आचार्य युथफोर्सका पूर्वजिल्ला नेता हुन् ।

रुपन्देहीका नारायण बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योग गरेको घटना, देवदहका दुर्गाप्रसाद तिवारीलाई गोली हान्ने प्रयास गरेको र २०७३ पुस ४ गते तिवारीलाई गोली हानी हत्या गरेको घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, २०७४ पुस २१ गते ‘बलु’ भन्ने वसन्त पौडेललाई गोली हानी हत्या गरेको घटनाका मुख्य योजनाकार मनोज पुन भन्ने मनोज बुढामगर र बिट्टु भन्ने योगेन्द्र सिंहसँग निरन्तर सम्पर्कमा रही जिल्लाका उद्योगी, व्यापारीको विवरण उपलब्ध गराउने र आपराधिक कार्य गराउन उनीहरुले फरक–फरक भूमिका निर्वाह गरेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।

उनले भने–‘यी घटनामा संलग्न अझै दुईजना फरार छन्, उनीहरुलाई पनि छिट्टै नियन्त्रणमा लिइनेछ ।’

जबर्जस्ती चन्दा असुलीलगायत जघन्य अपराध र गम्भीर प्रकारका घटनामा संलग्न भएका उनीहरुलाई कर्तव्य ज्यान मार्ने उद्योग, संगठित अपराध, जबर्जस्ती चन्दा असुली, हातहतियार खरखजाना मुद्दा लगाइने प्रहरीले जनाएको छ ।

‘कुनैपनि पेसा, व्यवसाय, धर्म र राजनीतिको आडमा गरिने अपराध क्षम्य हुँदैन’–प्रहरी उपरीक्षक ज्ञवालीले भने । रासस