२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पाँच वर्ष कैद सजाय तोकिएका दीपक मनाङे पक्राउ


0
Shares

काठमाडौं, वैशाख ७ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ‘दीपक मनाङे’ भन्ने राजीव गुरुङलाई पक्राउ गरेको छ ।

प्रतिवादी मनाङेलाई बिहीबार स्वयम्भूस्थित तीनधारामा लुकीछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर, काठमाडौँबाट खटिएको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

‘चक्रे मिलन’ भन्ने मिलन गुरुङलाई दीपक मनाङेले धारिलो हतियार प्रहार गरी बायाँ हात छिनालीदिएको घटनामा पुनरावेदन अदालत, पाटनबाट पाँच वर्ष कैद सजाय हुने गरी फैसला भएको थियो ।

उक्त फैसलालाई सदर गर्ने गरी सर्वोच्च अदालतसमेतबाट फैसला भई उक्त मुद्दा अन्तिम किनारा लागिसकेको छ ।

मनाङेको खोजीका लागि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्न पत्राचारसमेत गरेको थियो ।

गत मंसिर १० गते भएको प्रदेशसभा सदस्य निर्वाचनमा मनाङबाट निर्वाचित मनाङे सर्वोच्चको निर्णयपछि फरार रहेका थिए । (रासस)