
सरकारले सुरक्षा संयन्त्र प्रभावकारी ढंगले परिचालन गरेको दावी गरे पनि जनप्रतिनिधिसमेत आक्रमणको शिकार हुन थालेका छन् ।
वैशाख ८ गते शनिबार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई लक्षित गरी सांघातिक आक्रमण भयो ।
आइतबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको ललितपुर, हात्तीवनस्थित घरमा विस्फोट भयो । पछिल्लो समयमा यस्ता घटना राजधानीबाहिरसमेत हुनेक्रम बढेको छ ।
जनप्रतिनिधि र सार्वजनिक पदमा बसेका व्यक्तिलाई लक्षित गर्दै शृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षा चुनौती बढेको विश्लेषण हुन थालेको छ ।
प्रमुख निर्वाचन आयुक्तको निवासमै पुगेर गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षाको प्रत्याभूति दिलाउने आश्वासन दिए ।
यता, मध्यपुर थिमीका मेयर श्रेष्ठको उपचार भइरहेको नेपाल–कोरिया मैत्री अस्पतालमै पुगेर रक्षामन्त्री ईश्वर पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत सुरक्षा निकायका अधिकारीहरुले आक्रमणकारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।
तर, घटना भएको लामो समय बितिसक्दा पनि न त प्रमुख निर्वाचन आयुक्तको घरमा बम विस्फोट गराउने समूह पत्ता लागेको छ न मेयर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीहरु नै पक्राउ परेका छन् ।
मेयर श्रेष्ठले जनप्रतिनिधिको घरमै पुगेर आक्रमण गर्नेहरुलाईसमेत पक्राउ गर्न नसक्नु दुःखद भएको बताए ।
जनप्रतिनिधिमाथि हुन थालेका आक्रमणको निन्दा गर्दै सरकारको विरोध सुरु भएको छ । सरकारले सुरक्षा दिन नसकेको भन्दै स्थानीयबासिन्दा विरोधमा उत्रिन थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्