टेलिकमको सेवा सुधार्न, अप्टिकल फाइबरको काम रोक्न प्रधानमन्त्रीको निर्देशन • Image Khabar Image Khabar


टेलिकमको सेवा सुधार्न, अप्टिकल फाइबरको काम रोक्न प्रधानमन्त्रीको निर्देशन


Imagekhabar
१४ बैशाख २०७५, शुक्रबार १९:१८

टेलिकमको सेवा सुधार्न, अप्टिकल फाइबरको काम रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले टेलिकमभित्र ‘मुसा वा मुसा प्रवृत्ति’ले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद् रहेको उल्लेख गर्दै भने–‘टेलिकमभित्र यस्ता प्रवृत्ति हावी भएको देखिन्छ । यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले टेलिकमका प्राविधिक शाखामा २४ सै घन्टा कर्मचारी खट्नुपर्ने भन्दै त्यस्ता शाखामा कर्मचारीको समय तालिका मिलाएर एकछिन पनि खाली नगर्न निर्देशन दिए ।

टेलिकम नाफाका लागिमात्र नभएर जनताको सेवाका लागि स्थापना गरिएको संस्था भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले टेलिकमले गरिरहेको अप्टिकल फाइबरको कामप्रति असन्तुष्टि जनाए ।

‘यस कामकाबारेमा गुनासा आएका छन् । यसको काम जहाँ पुगेको छ, त्यहीँ रोक्नुहोस्’–प्रधानमन्त्री ओलीले भने–‘यसकाबारेमा थप बुझेपछि कसरी अगाडि बढ्ने छलफल गरौंला ।’

प्रधानमन्त्री ओलीले टेलिकमलाई प्रतिस्पर्धामा अगाडि आउने गरी तयारी गर्न निर्देशन दिए ।

‘टेलिकम प्रतिस्पर्धामा पछाडि पर्ने लक्षण देखिएका छन्’–उनले भने–‘त्यस्तो हुनु भएन । सेवामा सुधार गर्नुहोस् ।’

टेलिकम सुधारका पक्षमा प्रस्ताव ल्याउन प्रधानमन्त्रीले टेलिकमको व्यवस्थापनलाई आग्रह गरे ।

‘सेवा सुधारको प्रस्ताव ल्याउनुहोस् । चुहावटको प्रस्ताव ल्याउनुहोस्’–प्रधानमन्त्री ओलीले भने–‘अनियमितता नगर्नुहोस् । गर्नेलाई नछोड्नुहोस् ।’

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलगायतको उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस्