Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


सूचनाहरू उपलब्ध गराउनु सम्बन्धित सूचना अधिकारीको कानूनी दायित्व: सांसद पुन


0
Shares

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाई प्रक्रियाका सूचनाहरू उपलब्ध गराउनु सम्बन्धित सूचना अधिकारीको कानूनी दायित्व भएको बताउनुभएको छ ।

सिंहदरबारमा शुक्रबार आयोजित संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै सांसद पुनले प्रचलित कानून बमोजिम सूचना प्रवाह गर्ने विषयमा समितिले छुट्टै निर्देशन दिइराख्नु नपर्ने तर्क गर्नुभएको हो । सांसद पुनले सूचना माग गर्ने व्यक्तिलाई कानूनले तोकेको ढाँचामा सूचना उपलब्ध गराउनु सूचना अधिकारीको अधिकार क्षेत्रभित्र पर्ने स्पष्ट पार्नुभयो। समितिका सम्पूर्ण कामकारबाहीहरू पारदर्शी र सार्वजनिक रहेको उल्लेख गर्नुभएकाे छ।

संसदीय सुनुवाईलाई प्रत्यक्ष प्रशारण गरिएकाले कुनै पनि जानकारी गोप्य नरहेको उहाँले दावी गर्नुभएकाे छ। सांसद पुनले सूचना माग्ने व्यक्तिले सूचना अधिकारीमार्फत प्रक्रिया अगाडि बढाउनुपर्ने र सो प्रक्रियाबाट चित्त नबुझेमा राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दिने कानूनी मार्ग प्रशस्त रहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । समितिले सूचना अधिकारीको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न नमिल्ने भन्दै उहाँले कानूनी व्यवस्थालाई पालना गर्नु नै उत्तम हुने बताउनुभएकाे छ।

सांसद पुनले कानूनी रूपमा प्रष्ट भइसकेका विषयहरूलाई समितिको कार्यसूची बनाइराख्न र यस्ता विषयमा धेरै अलमलिन आवश्यक नरहेको उल्लेख गर्नुभयो । सूचना अधिकारीले नै विद्यमान कानूनी व्यवस्थाअनुसार जिम्मेवारी पूरा गर्नु उपयुक्त हुने उहाँको ठहर छ ।