
काठमाडौं, कात्तिक ३० । राजधानीमा जारी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन हावी देखिएकी छन् ।
रशिला महिला एकल र युगल तथा १७ वर्षमुनिको विधामा उपाधिनजिक पुगेकी छन् ।
रशिला शुक्रबार सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरीकी जेशिका गुरुङलाई २१–१३ र २१–११ ले हराउँदै फाइनलमा पुगेकी हुन् ।
रशिलाले फाइनलमा आर्मीकै नङ्शलदेवी तामाङसित खेल्नेछन् ।
नङ्शलले सशस्त्रकी शोभा गौचनलाई २१–१२ र २१–८ ले हराउँदै फाइनलमा ठाउँ बनाएकी हुन् ।
रशिलाले १७ वर्षमुनिको खेलमा मोरङकी रोज पाण्डेलाई २१–९ र २१–६ ले हराउँदै तथा महिला युगलमा नङ्शलसित मिलेर फाइनलमा पुगेकी हुन् ।
रशिला–नङ्शलको जोडीले जेष्टकी सीता राई र बाँकेकी सम्झना शर्माको जोडीलाई २१–११ र २१–११ को सोझो सेटमा हराएको हो ।
उपाधिका लागि रत्नजितले दिपेशसित खेल्ने
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा जारी प्रतियोगितामा पुरुष एकलतर्फ आर्मीका रत्नजित तामाङ आफ्नै क्लबका रुकेश महर्जनमाथि २१–११ र २१–१४ को जितसहित शुक्रबार फाइनलमा पुगेका छन् । उपाधिका लागि रत्नले सशस्त्रका दिपेश धामीसित खेल्नेछन् ।
दिपेशले आर्मीकै नवीन श्रेष्ठलाई २१–१७ र २१–६ ले पराजित गर्दै फाइनलमा ठाउँ बनाएका हुन् ।
पुरुष युगलतर्फको उपाधिका लागि आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले फाइनलमा सशस्त्रका दिपेश धामी र विजित थापामगरको जोडीसित खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्