२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


सुन तस्करीकान्डः ६३ जनाविरुद्ध मुद्दा दर्ता, एसएसपीले पत्रकारलाई हाने लात्ती (भिडियो)


0
Shares

पक्राउ परेका ७ प्रहरी अधिकारीसहित २९ जना र अरुलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता गरिएको हो ।

साढे ३३ किलो सुन तस्करीको मुद्दामा अभियुक्तहरुबाट १७ करोड रुपैयाँ बराबरको विगो भराउन मागसमेत गरिएको छ ।

तर, विक्रम संवत् २०७० सालयता ३ हजार ८०० किलो सुन तस्करी भएर आएको भन्दै सोबापत १७ अर्ब १ करोड ८० लाख ७१ हजारभन्दा बढी रकम विगोबापत असुल उपर गर्नुपर्ने माग गरिएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले सुनको अवैध चोरी–पैठारी तथा निकासी, अपरहण, शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको जानकारी दिए ।

उनीहरुको बिहीबार (भोलि)देखि बयान लिनेक्रम सुरु हुने स्रेस्तेदार दुलालले बताए ।

मुद्दा दर्ता गरिएका बहालवाला प्रहरी अधिकारीहरुमा वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानी, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र प्रहरीजवान विष्णुबहादुर खड्का तथा पूर्वडीआईजी गोविन्द निरौला रहेका छन् ।

यस्तै, विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बीर तोलांगे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल र तुलाराम थारू रहेका छन् ।

व्यापारीहरु महावीर गोल्यान, राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ ।

मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भनिने मोहन घिमिरेविरुद्ध कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाइएको छ ।

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेती भने अझै फरार छन् । उनी भारतमा लुकेर बसेको हुनसक्ने आशंका गरिएको छ ।

सन्चारकर्मीमाथि लात्ती प्रहार
यसैबीच, साढे ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखा काठमाडौंका तत्कालीन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीले सन्चारकर्मीमाथि लात्ती प्रहार गरेका छन् ।

बुधबार मोरङ जिल्ला अदालत परिसरबाट निस्कनेक्रममा लोहनीले सन्चारकर्मीहरुमाथि हातपातको प्रयास गरेका हुन् ।

उनले इमेज च्यानलका मोरङ संवाददाता ध्रुव भट्टराई र पत्रकार सुमन सुस्केरामाथि लात्ती हान्ने कोसिस गरेका हुन् ।

अभियुक्तहरुको तस्वीर लिन खोज्दा लोहनी पत्रकारमाथि जाइलागेका थिए । लोहनीले प्रहार गरेको लात्ती क्यामेरामा लागेको थियो ।

भिडियो हेर्नुहोस्