३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठको घरमा तोडफोड


0
Shares

यही वैशाख ८ गते घरमा बसिरहेका बेला केही व्यक्तिको आक्रमणबाट घाइते भइ नेपाल–कोरिया मैत्री अस्पतालमा उपचार गराइरहेका प्रमुख श्रेष्ठको घरमा शुक्रबार राति तोडफोड गरिएको हो ।

सोही घरमा सहकारी सन्चालन गर्दै आएका चन्द्रभक्त श्रेष्ठले घटनाकाबारेमा जानकारी दिँदै भने–‘सीसी क्यामेराको दृश्य हेर्दा राति दुईजनाको समूहमा आएका व्यक्तिले प्रमुख श्रेष्ठको घरको मूलढोका तोडफोड गरी त्यसको माथिको दुई तलासम्मको ढोकाहरु तोडफोड गरेर फरार भएको देखिएको छ ।’

नेपाल–कोरिया मैत्री अस्पतालमा उपचाररत् प्रमुख श्रेष्ठले भने–‘घरमा तोडफोड भयो भन्ने सुनें । ममाथि आक्रमण भएको १६ दिन भइसक्दा पनि आक्रमणकारी पक्राउ परेका छैनन्, फेरि आज घरमा तोडफोड भयो, खै के कारबाही होला र ?’

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले नगरप्रमुखमाथिको आक्रमणसँग तोडफोडको घटना जोडिएको नपाइएको बताए ।

तोडफोड गर्ने नियतभन्दा पनि चोरी गर्ने नियतले आएको हुनसक्ने देखिएको बताउँदै उनले घटनाबारे अनुसन्धान सुरु गरेको बताए ।

यसैबीच, नगरप्रमुख श्रेष्ठमाथि भएको आक्रमणको विरोधमा संघर्ष गर्ने गरी १५१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

मध्यपुरथिमिमा शनिबार भएको स्थानीयको भेलाले आक्रमणकारीलाई तत्काल पक्राउ गर्न दबाब दिन, नगरप्रमुखको सुरक्षा गर्न र घटनाको विरोध गर्न समिति गठन गरिएको समितिका नवीनप्रकाश श्रेष्ठले जानकारी दिए । रासस