२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बालिका हत्यामा संलग्न अभियुक्त सार्वजनिक


0
Shares

गाईघाट, कात्तिक २९ । गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३, लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन् ।

प्रहरीकाअनुसार बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (नाम परिवर्तन) र अर्का १७ वर्षीय विपललाई बालिका हत्याका अभियोगमा चार दिनको अनुसन्धानपछि बिहीबार सार्वजनिक गरिएको हो ।

प्रहरीकाअनुसार गत शनिबार बालिका खड्का एक्लै घरनजिकैको जंगलमा बाख्रा चराउन गएकी थिइन् ।

बालिकालाई एक्लै देखेर दुई अभियुक्तले बालिका भएको स्थानमा गएर पक्रेर बलात्कारपछि हत्या गरेको अभियुक्तहरुले स्वीकार गरेको प्रहरी प्रमुख राईले बताए ।

बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्नेक्रममा आइतबार २ बजे नजिकैको खरबारी पाखाको एक रूखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, घाँटीमा नीलडाम र मुखमा कपडा खाँदेको अवस्थामा मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ ।

घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालिमप्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शव परीक्षणका लागि सुनसरीको बीपी मेमोरियल अस्पताल पठाएको प्रहरीले बताएको छ ।

अनुसन्धानमा प्रहरीले ६ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुईजनामात्र भएको पुष्टि भएपछि बिहीबार अभियुक्तहरुलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको प्रहरीले बताएको छ ।

अभियुक्तहरु नेपालको कानुनअनुसार बालक नै भएका कारण पहिला अदालतको परामर्शअनुसार सुधारगृहमा पठाउने तयारी भइरहेको र पछि अदालतको दन्ड–सजायबमोजिम कारबाही अगाडि बढाउने प्रहरीले बताएको छ । रासस