२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


१३ वर्षीय बालकको बक्सिङ रिङमै मृत्यु, थाइल्यान्डमा खैलाबैला


0
Shares

बैंकक, कात्तिक २८ । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी विरोध भएको छ ।

मुआए थाइ मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने गरी प्रतिबन्ध लगाउन फेरि आवाज उठेको छ ।

थाइ बक्सिङ देशैभर निकै लोकप्रिय छ र युवा अवस्थामै धेरै खेलाडी प्रतिष्ठा एवं धनको लोभमा यस खेलमा आकर्षित हुने गरेका छन् ।

तर, जतिसुकै आलोचना भएपनि १० वर्ष नपुग्दै रिङमा बालबालिकालाई खेलाउने प्रचलन घट्नुको साटो हरेक वर्ष बढ्दैछ ।

बच्चाहरुले रिङमा आफ्ना प्रतिद्वन्द्वी खेलाडीका टाउकामा खुट्टा र कुहिनाले निर्मम किसिमबाट प्रहार गर्दछन् । यी बालखेलाडीले प्रायः टाउकामा सुरक्षा कवचसमेत लगाएका हुँदैनन् ।

अधिकांश गरिब परिवारबाट आएका यी बालकहरु परिवारको जीवन गुजाराका आधारसमेत बनेका छन् । बच्चाहरुलाई रिङमा उतार्नु एक किसिमले जुवाको खालजस्तो हुने गर्दछ ।

अनुचा तासाकोको बैंककनजिकको सामुट प्राकान प्रान्तमा नोभेम्बर १० मा खेलिएको एक खेलमा रिङभित्रै मृत्यु भएको थियो । विपक्षी बालकले अनुचाका टाउकामा धेरै प्रहार गरेसँगै उनी भुइँमा ढलेका थिए ।

स्मार्टफोनमा खिचिएको तस्वीरमा अनुचाको टाउकोमा विभत्स किसिमबाट प्रहार गरिएको देखिएको छ ।

अचेत भएर ढलेका अनुचालाई मद्दत गर्न उनका सहयोगी तत्कालै रिङभित्र प्रवेश गरे पनि उनको मृत्यु भइसकेको थियो ।

प्रहरीकाअनुसार अनुचाको मृत्यु मस्तिष्काघातबाट भएको छ ।

स्थानीय सन्चारमाध्यमहरुकाअनुसार यी बालक ८ वर्षको उमेरदेखि नै बक्सिङ खेल्ने गरेका थिए । उनले यसअघि १५० भन्दा बढी खेल खेलिसकेका थिए ।

उनका प्रतिस्पर्धी बालक निटीक्रोन सोन्डे पनि उस्तै उमेरका रहेको प्रहरीले जनाएको छ । अनुचाको मृत्युप्रति उनले फेसबुकबाट दुःख प्रकट गरेका छन् ।

यी दुवै बालकले टाउकोको सुरक्षाका लागि सुरक्षा कवच लगाएका थिएनन् ।

थाइल्यान्डमा १२ वर्षभन्दामुनिको उमेरका बच्चाहरुलाई रिङमा उतार्ने कार्य बन्द गर्न एउटा विधेयक संसदमा विचाराधीन छ । अनुचाको मृत्युपछि भने यो विधेयक पारित हुने सम्भावना बढेको छ ।

अनुचाको मृत्यु भएपछि यो खेलमा बालबालिकाको प्रयोगकाविरुद्धमा चौतर्फी आवाज उठेको छ । कतिपयले निर्णायकको गल्तीका कारण बालकको ज्यान गएको आरोप लगाएका छन् ।

‘ती बालक उभिनसक्ने अवस्थामा पनि थिएनन् । किन निर्णायकले खेल बेलैमा रोकेनन् ?’ थाइ फेसबुक प्रयोगकर्ताहरुले आक्रोश पोखेका छन् ।

थाइल्यान्डका पर्यटन तथा खेलकुदमन्त्रीको भनाइ उद्धृत गर्दै स्थानीय सन्चारमाध्यमले मस्यौदा विधेयक जतिसक्दो चाँडो संसदमा पेस गरिने बताएका छन् ।

कतिपयले थाइल्यान्डको संस्कृतिकारुपमा रहेको बक्सिङलाई निरुत्साहित नगर्ने गरी विधेयक आउनुपर्ने बताएका छन् । रासस/एएफपी