२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बम विस्फोटको आरोपमा २६ वर्षीया युवती पक्राउ


0
Shares

झापा, वैशाख ३० । झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा आइतबार बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनी नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

बिहान करीब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट प्रालिको मे१ख २७३३ र मे१ख २७२६ नम्बरको बस, गाडीको डिजल ट्यांकी, झ्यालका सिसा र टायरमा क्षति पुगेको जनाइएको छ ।

यता नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको बिहान सामान्य असर परेको थियो । बिहान लामो तथा छोटो दूरीका सवारी नचले पनि बिहान १० बजेदेखि यातायात चल्न थालेका छन् भने बजार तथा पसल खुलेका छन् ।

उता दमक नगरपालिकास्थित दमक बस पार्कमा शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । सानो गोलो आकारको कालो रङको शंकास्पद वस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

शंकास्पद वस्तु पहिचानका लागि नेपाली सेनाको बम निष्क्रिय टोली घटनास्थल पठाइसकिएको प्रहरी कार्यालयले जनाएको छ । (रासस)