२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मोरङका खोला नालाबाट अवैधरुपमा ढुङ्गा गिट्टी उत्खनन्


0
Shares

मोरङ, बैशाख ३१ । मोरङको खोला नालामा अवैधरुपमा ढुङ्गा गिट्टी उत्खनन् बढेको छ ।

नियामक निकायको अनुगमन अभावमा क्रसर उद्योग र तिनका सहयोगीले मापदण्ड विपरित अवैध रुपमा खोला नालाबाट ठूलो परिमाणमा प्राकृतिक स्रोत उत्खनन् गरेर दोहन गर्दै आएका छन ।

ठेकदार र उनका सहयोगीले जिल्लाका विभिन्न खोलानालामा असीमित ढुंगा–गिट्टी निकाल्ने गरेका छन् ।

खोलामा लोडर, एक्जाभेटर प्रयोग गर्न नपाइने भएपनि यहाँ उल्लंघन गरिएको छ ।

उत्तरी मोरङमा मापदण्ड विपरीत खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गर्दा मोरङका खोेलानालाको स्वरुप बिग्रन थालेको छ ।

ठेकेदारहरुले मोरङका खदम र चिसाङ खोलाबाट अधिक मात्रमा गहिराएर बालुवा गिटी निकाल्ने गरेका छन् ।

खोला ठेक्का लगाउँदा बढीमा डेढ मिटरमात्रै उत्खनन गर्न सकिने मापदण्ड तोकिए पनि ठेकेदारहरुले क्रसर उद्योगबाट करीब ५ सय मिटर आसपासको क्षेत्रमा खोलाको सतहबाट दुई फिट गहिराइसम्म ढुङगा गिट्टी निकालेका छन् ।

राष्ट्रिय वन क्षेत्रबाट दुई किलो मिटर र चुरे क्षेत्रभन्दा एक किलोमिटर टाढा मात्र क्रसर उद्योग राख्न पाइने व्यवस्था भएकामा अधिकांश उद्योग चुरे र वन क्षेत्रमै संचालित छन् ।

जिल्ला समन्वय समितिले यस वर्ष उत्तरी क्षेत्रमा रहेका खोला नाला २६ करोडमा ठेक्का लगाएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख शोभाकर रेग्मीले यो वर्ष २७ वटा नाकाका लागि जिल्लाका ठेक्कामा लगेका खोला नालाबाट १४ लाख घनमिटर ढुङा गिट्टी उत्खन्नका लागि अनुमति दिइएको जानकारी दिए ।

उनले खोला नालाको ढुङा गिट्टीको नियामक निकाय स्थानीय तहलाई जिम्मेवारी दिएकाले यस विषयमा आफुलाई जानकारी नभएको बताए ।