
काठमाडौं, कात्तिक २६ । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
प्रशिक्षक जोजे मोरिन्होको युनाईटेड र ग्वार्डियोलाको सिटीबीचको म्यान्चेस्टर डर्बीमा सिटी ३–१ ले विजयी भएको हो । आफ्नै मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन डेभिड सिल्भा, सर्जियो अगुएरो र ईके गुन्डोगानले एक–एक गोल गरे ।
पराजित टोली म्यान्चेस्टर युनाईटेडका लागि एन्टोनी मार्टियलले पेनाल्टीमार्फत एक गोल फर्काए । जितसँगै सिटीले प्रिमियर लिग तालिकामा आफ्नो अग्रतालाई निरन्तरता दिएको छ ।
प्रिमियर लिग फुटबलमा गएराति लिभरपूलले फुल्हामलाई २–० ले हरायो । लिभरपूलको जितमा मोहोमद सलाह र खेद्रान शाकिरीको एक–एक गोल सामेल थियो ।
गएराति चेल्सीलाई एभर्टनले गोलरहित बराबरीमा रोक्दा आर्सनलले वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ गोलको बराबरी खेलेको छ । गएरातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १२ खेलबाट ३२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । समान खेलबाट ३० अंक जोडेको लिभरपूल दोस्रो स्थानमा छ भने तेस्रो स्थानको चेल्सीको २८ अंक छ ।
प्रतिक्रिया दिनुहोस्