
बर्दिया, कात्तिक १७ । बारबर्दिया नगरपालिका–१०, बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई ‘निको पारिदिन्छु’ भन्दै घरमै आएर पटक–पटक बलात्कार गरेका छन् ।
गुरुवा (धामी–झाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचारका नाममा बलात्कार गर्ने गरेको पीडित महिलाले बताइन् ।
पीडित महिलाकाअनुसार सुब्बा थारुले राति फोन गरेर यौनसम्बन्ध राख्न दिए झारफुक गरी निको गराइदिने भन्दै पटक–पटक बलात्कार गर्ने गरेका थिए ।
गुरुवाले झारफुक गरेर निको भइहाल्छ कि भनेर सुरुआतमा भएको यौन दुर्व्यवहारपछि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ ।
उनले भनिन्–‘रोग निको भइहाल्छ कि भनेर गुरुवनुराले आफूमाथि गरेको बलात्कारको घटना बाहिर कसैलाई भनेको थिइनँ । तर, मनमा अतिपीडा भएपछि कानुनी न्यायका लागि प्रहरीमा गएको हुँ ।’
पीडितले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा आफूलाई बलात्कार गर्ने सुब्बा थारुविरुद्ध बलात्कार गरेको आरोपमा जाहेरी दिएकी छन् ।
पीडितले जाहेरी दिएको स्वीकार गर्दै थप अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाउने इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताए ।
निरीक्षक गौतमकाअनुसार घटनाका आरोपित सुब्बा थारुलाई कात्तिक १६ गते नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।
रोग ठीक हुनुभन्दा दिनानुदिन बढ्दै गएर थला पार्न थालेपछि भने महिलाले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा डाक्टरले क्यान्सर भएको भनेपछि सोहीअनुसार उपचार गराइरहेकी छिन् ।
पीडित महिलाको श्रीमान् वैदेशिक रोजगारमा गएका छन् भने दुई छोरा पनि घरबाहिर कमाउन जाने गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्