Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


नक्कली नोट छाप्ने गिरोह पक्राउ


0
Shares

काठमाडौं, कार्तिक ४ । महानगरीय प्रहरी परिसर काठमाडौंले नक्कली नोट छाप्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गरी नक्कली नोट छाप्ने ५ जनालाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा पर्सा घर भई हाल कीर्तिपुर बस्दै आएका २७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ, गोरखा घर भई कीर्तिपुर बस्दै आएका २५ वर्षीय नारायण श्रेष्ठ, मकवानपुर घर भई मुलपानी बस्ने २५ वर्षीय साहिल थापा मगर, पर्सा घर भई जोरपाटी बस्दै आएका २८ वर्षीय राज श्रेष्ठ र कुमारी गाल बस्दै आएका कागेश्वरी काठमाडौंका २९ वर्षीय विकास दोचे छन् ।

प्रहरीले उनीहरुका साथबाट ३ लाख ७० हजार नक्कली १ हजार रुपैंयाको नोट बरामद गरेको छ ।

यस्तै नक्कली नोट छाप्न प्रयोग गरेको प्रिन्टर १ थान, लालीगुराँस अंकित रबर छाप पनि बरामद गरिएको छ । शनिबार राती कीर्तिपुर नगरपालिका मच्छेगाउँस्थित कृष्णबहादुर क्षेत्रीको घरबाट प्रहरीले सो सामग्री बरामद गरेको हो ।

प्रहरीका अनुसार साढे चार तले उक्त घरको पहिलो तलामा भाडामा लिएको २ वटा कोठामा नक्कली नोट छाप्ने गरिएको थियो ।

शुक्रबार उक्त गिरोहका एक सदस्य एउटा डान्स बारमा नक्कली नोट प्रयोग गर्दै गर्दा पक्राउ परेपछि उनीमार्फत प्रहरीले नक्कली नोट बनाउने घरमा छापा मारेको थियो ।

नक्कली नोट छाप्ने उक्त गिरोहले हालसम्म ५ लाख नक्कली नोट छापिसकेको र १०० रुपैयाँको नक्कली नोट पनि छाप्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।