
सुनसरी, कार्तिक ४ । नाबालिकाको अपहरण, जबरजस्ती करणी एवं हत्या गरी फरार अभियुक्त महोत्तरी भङगाहा नगरपालिका–६ बस्ने २६ वर्षीय भरत साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी औरही नगरपालिका–१ बस्ने ८ महिनाकी नाबालिकालाई गत भदौ १० गते सोही स्थानबाट अपहरण गरी जबरजस्ती करणी तथा हत्या गरी फरार साहलाई सुनसरीको कोशी ब्यारेजबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले भारतीय नम्बरको ३ थान सिमकार्डसमेत बरामद गरेको छ ।
संगठित अपराध, जघन्य अपराध, महिला तथा बालबालिकामाथिको अमानवीय कार्यप्रति कानूनी कठोरता अपनाउने प्रहरी संगठनको नीति अनुरुप अपराधलाई रोकथाम तथा नियन्त्रणका लागि विशेष सुरक्षा योजना बनाई जाँच गर्ने क्रममा साहलाई फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियुक्त साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्