
खोटाङ, कात्तिक १ । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१, बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेका छन् ।
जग्गा विवादकाक्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७, पञ्चायनबाट पक्राउ गरिएको हो ।
घटनापछि भारतमा बस्दै आएका चन्द्रबहादुर दसैं मनाउन घर आएका बेला जिल्लाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।
पक्राउ परेका कार्कीलाई अदालत खुलेलगत्तै फैसला कार्यान्वयनका लागि पेस गर्नेगरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
कर्तव्य ज्यान मुद्दामा २०५७ साल जेठ १७ गते जिल्ला अदालत खोटाङबाट २० वर्ष कैद सजाय हुने फैसला सुनाइएका कार्की भारतको नागाल्यान्ड, सिलोङ हुँदै मिजोरममा गाईफार्म चलाएर बस्दै आएका थिए ।
उक्त घटनामा चन्द्रबहादुरका साथै सोही ठाउँका केशव कार्की, नरबहादुर भुजेललगायत चारजनामाथि स्थानीय ढकबहादुरको हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।
ढकबहादुरको हत्यामा संलग्न नरबहादुर र केशवले अदालतको फैसलाअनुसार कैद भुक्तान गरिसकेका छन् ।
पक्राउ परेर हिरासतमा रहेका चन्द्रबहादुर र अर्का एकजना अभियुक्त भने हालसम्म फरार थिए । फरार एक अभियुक्त अझै पक्राउ पर्न बाँकी रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, भेडा चोरी गरेको मुद्दामा सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका सन्तोष राई पनि पक्राउ परेका छन् ।
भेडा चोरी मुद्दामा जिल्ला अदालत खोटाङबाट २०७४ साल भदौ ७ गते ११ दिन कैद हुने र १५ हजार जरिवाना भराउने फैसला सुनाइएका राईलाई उनको घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्