दीपक श्रेष्ठ/प्रदीप तामाङ (इमेज)
काठमाडौं, असोज २२ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकान्डमा शंकाको सुइ घटनाका सम्बन्धमा आरोप लाग्दै आएका व्यक्तितर्फ नै सोझिएको छ ।
गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले बुझाएको बहुप्रतिक्षीत प्रतिवेदनले कन्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टका छोरासहित बम दिदी–बहिनीलाई पुनः छानबिनको दायरामा ल्याउन सुझाव दिएको छ ।
गृहमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा हत्या कसले गर्यो भनेर किटानी त गरिएको छैन । तर, केही व्यक्तिमाथि पुनः अनुसन्धान बढाउन भने सुझाव दिइएको छ ।
निलम्बित एसपी डिल्लीराज बिष्टका छोरा किरण बिष्ट, रोशनी र बबिता बम दिदी–बहिनीमाथि शंका गरिएको छ ।
प्रहरीको लापरबाही र बम दिदी–बहिनीमाथि कन्चनपुरवासीले साउन ११ गतेदेखि नै औंला उठाएका थिए ।
निलम्बित एसपी बिष्टका छोरा किरणले आफूले बम दिदी–बहिनी र स्थानीय आयुष बिष्टलाई नचिनेको बताएका छन् ।
उनले आफ्नो जन्मदिन मनाउन आएका तीनजना केटीहरु नचिनेको, १० गते राति साथीसँगै बसेको, ११ गते दोधरा–चाँदनी जोड्ने पुलमा गएर ४ बजेतिर फर्किएको, भोलिपल्ट कहाँ गएँ भन्ने एकिन नभएको बयान दिएका छन् ।
यता, निर्मला पन्त हराएको दिन बम दिदी–बहिनी उनीहरु पढ्दै आएको ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
तर, उनीहरुका बुवाले ट्युसन सेन्टरमा गइ उनीहरु उक्त दिन ट्युसन पढ्न आएका थिए भनेर भनिदिन आग्रह गर्न पुगेकाले घटना शंकास्पद देखिएको प्रतिवेदनको निष्कर्ष छ ।
उनीहरुको गतिविधि शंकास्पद देखिएकाले निलम्बित एसपी बिष्टका छोरा किरण बिष्ट, रोशनी र बबिता बममाथि अनुसन्धान गर्नुपर्ने कारणसहितका केही सम्बन्धित भनाइलाई प्रतिवेदनले समेटेको छ ।
पूर्वप्रहरी नायव महानिरीक्षक केशव अधिकारी शंकाको घेरामा रहेकाहरुलाई पुनः छानबिनको दायरामा ल्याउनुपर्ने बताउँछन् ।
तत्कालीन कन्चनपुर प्रहरीले घटनाका सबैजसो प्रमाण योजनाबद्ध ढंगले गायब पारेको विषयलाई प्रतिवेदनले गम्भीरताका साथ उठाएको छ । समितिले लापरबाही गर्ने प्रहरीमाथि नै छानबिन गर्न सुझाव दिएको छ ।
निर्मला हराएको सूचना पाएपछि पनि प्रहरी उदासीन रहेको, घटनास्थलको मुचुल्का उठाउनेक्रममा गम्भीर गल्ती भएको, घटनासँग सम्बन्धित प्रमाण संकलनमा लापरबाही र हेलचेक्र्याइँ गरेको, घटनास्थलको पर्याप्त सुरक्षा नगरेको र अनुसन्धानमा तालिमप्राप्त कुकुर प्रयोग नगरेको प्रतिवेदनको निष्कर्ष छ ।
निर्मलाको अन्तै हत्या गरी शव उखुबारीमा ल्याएर नियोजित ढंगले राखेको हुनसक्ने औंल्याउँदै प्रतिवेदनले बलात्कारपछि हत्यामा एकजनामात्रै संलग्न नभएको शंका गरेको छ ।
छानबिन समितिले उजागर गरेको तथ्यलाई आधार मानेर पुनः अनुसन्धान हुन्छ कि हुँदैन ? भन्नेमा अब धेरैको ध्यानकेन्द्रित भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्नेतको अर्को छानबिन टोलीले यो हत्याकन्डको अनुसन्धानमा के नतिजा ल्याउला ? प्रतिक्षाको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्