काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पोखरा एभेन्जर्सको इनिङ्स ध्वस्त पारेका छन्। उनको ह्याट्रिकसहितको ६ विकेटपछि पोखरा १३२ रनमै अलआउट भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले १७।५ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनायो।
पोखराका लागि ओपनर युवराज सामराले सर्वाधिक ८४ रन बनाए। ४७ बल खेलेका उनले सात चौका र पाँच छक्का प्रहार गरे। धनञ्जय लक्षनले २२ र सन्नी बीकेले १२ रन जोडे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरका सन्दीपले चार ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले १५औँ ओभरको लगातार तीन बलमा विकेट झार्दै ह्याट्रिक पूरा गरेका हुन्।
योसँगै सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि शाहब आलम र रोहित पौडेलले यो उपलब्धि हासिल गरेका थिए। त्यस्तै, एकै खेलमा ६ विकेट लिने उनी तेस्रो बलरसमेत बनेका छन्। यसअघि शाहब आलम र विलियम बोसिस्टोले यो उपलब्धि हासिल गरेका थिए।
विराटनगरका एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले पनि एक–एक विकेट लिए।









प्रतिक्रिया दिनुहोस्