सुरेन्द्र भण्डारी, झापा। झापाको कमल गाउँपालिकामा प्रहरीले जुवा खेलिरहेको अवस्थामा घरधनीसहित १२ जनालाई पक्राउ गरेको छ ।
कमल गाउँपालिका–५ स्थित गीता भट्टराईको घरमा जुवाको गतिविधि भइरहेको सूचनापछि प्रहरीले सोमबार राति छापा मारेको थियो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले ४५ वर्षीया घरधनी भट्टराईसहित १२ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार छापा मार्ने क्रममा जुवा खेल्न प्रयोग गरिएको स्थानबाट १ लाख ९१ हजार ८ सय रुपैयाँ नगद, पाँच बुङ तास र नौ थान मोबाइल बरामद गरिएको छ ।
पक्राउ पर्ने अन्य व्यक्तिमा कमल गाउँपालिका–५ का अशोक पौडेल, अमर धिताल, देवेन्द्र कुइँकेल, सविन भट्टराई, सहदेव धिमाल, बाबुराम राई, राज राजवंशी, दीपक धिमाल, अर्जुन थापा, दुर्गाप्रसाद अधिकारी र तिलकबहादुर कार्की रहेका छन् ।
पक्राउ परेका सबैमाथि जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभएको छ ।









प्रतिक्रिया दिनुहोस्