काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७, म्हः पूजा तथा गोवर्धन पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गर्नुभएको नेपाल संवत् नेपालीको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, “राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गर्नुभएको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान हो ।”
म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्व उल्लेख गर्दै उहाँले आफ्नै शरीर र चेतनालाई साक्षी राखेर गरिने यो पूजाले आत्मशुद्धि र चेतनाको बोध गराउने बताउनुभएको छ । यस परम्पराले नेवार समुदायको आपसी सद्भाव, आत्मबल, सांस्कृतिक संरक्षण र जातीय एकतालाई थप मजबुत बनाएको उहाँको भनाइ छ ।
त्यस्तै, गोवर्धन पूजाको प्रसंग उल्लेख गर्दै उहाँले भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाउनुभएको पौराणिक मान्यतासँगै गोरु तथा कृषि औजारको पूजा गर्ने परम्पराले कृषि संस्कृतिको महत्व झल्काउने बताउनुभएको छ ।
उहाँले भैलो र देउसीजस्ता सांस्कृतिक परम्पराले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने उल्लेख गर्दै मौलिक चाडपर्वले सामाजिक एकता तथा सहिष्णुताको भावना बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
“हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून्,” उहाँले भन्नुभएको छ ।
प्रधानमन्त्री शाहले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्