Logo २१ कार्तिक २०८३, शनिबार | Sat, Nov 7, 2026


सिन्धुलीमा अटो दुर्घटना हुँदा गर्भवती महिलासहित सात जना घाइते, पाँचको अवस्था गम्भीर


0
Shares

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।

शनिबार दिउँसो १ः३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु।प्र।०१–००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भएर सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको हो ।

दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ निवासी ४० वर्षीय गंगा घिसिङ मध्यम घाइते भएका छन् ।

त्यस्तै, पहिचान खुल्न नसकेकी करिब ३२र३३ वर्षीया गर्भवती महिला, बागमती गाउँपालिका–१ की १९ वर्षीया कान्छीमाया पहरी, उनकी तीन वर्षीया छोरी समिक्षा पहरी, सोही स्थानका नौ वर्षीय प्रवास पहरी र सात वर्षीया स्वस्तिका पहरी तथा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरेकी ६० वर्षीया पातलीमाया भोलन गम्भीर घाइते भएका छन् ।

घाइते प्रवास पहरीको निधार र अनुहारमा चोट लागेको छ भने उनी बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ ।

सबै घाइतेलाई उपचारका लागि मकवानपुर पठाइएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट टोली खटिएर आवश्यक अनुसन्धान अघि बढाएको छ । दुर्घटनाग्रस्त अटो भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

Skip This