Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


उदयपुरका तीन पालिकाद्वारा ९३ परिवारलाई जग्गाधनी पुर्जा वितरण


0
Shares

माधव पोख्रेल, उदयपुर ।

उदयपुरका कटारी नगरपालिका, रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाले दुई दिनमा ९३ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेका छन् ।

शुक्रबार कटारी नगरपालिका–१ बेलसोतका १० परिवार र रौतामाई गाउँपालिकाका ५६ परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । यसअघि बिहीबार त्रियुगा नगरपालिका–५ का २७ परिवारलाई पुर्जा वितरण गरिएको थियो ।

कटारी नगरपालिकाको आयोजनामा बेलसोतमा भएको कार्यक्रममा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले १० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरेका हुन् । पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलिततर्फ पदमबहादुर कामी, पृथ्वीबहादुर दमाई र दीपक मुसहर छन् । त्यस्तै, भूमिहीन सुकुम्बासीतर्फ श्यामबहादुर राई, पृथ्वीबहादुर पुलामी, सविताकुमारी वलम्पाकी, विष्णुबहादुर मगर, दिलबहादुर पुलामी, सुनिता कार्की खड्का र कृष्णबहादुर कार्की रहेका छन् ।

पुर्जा वितरण गर्दै नगरप्रमुख श्रेष्ठले आगामी दिनमा नगरपालिकाका अन्य वडामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पनि जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने योजना रहेको बताउनुभयो ।

त्यस्तै, रौतामाई गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित मुर्कुची बजारमा भएको कार्यक्रममा ५६ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई पुर्जा वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले आफ्नो कार्यकालमा सुरु गरिएको निरन्तर प्रयासपछि भूमिहीन परिवारले जग्गाधनी पुर्जा पाउन सफल भएको बताउनुभयो । उहाँले यस उपलब्धिको खुसी घरघरमा दीप बालेर मनाउन आग्रह गर्नुभयो ।

यसैगरी, त्रियुगा नगरपालिकाको आयोजना तथा जिल्ला भूमि समस्या समाधान समिति उदयपुरको समन्वयमा २७ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।

Skip This