काठमाडौं । नेपालमा कृषि यन्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मङ्सिरमा ‘आठौँ अन्तर्राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी २०८३’ आयोजना हुने भएको छ ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघकाअनुसार यो प्रदर्शनी २०८३ साल मङ्सिर ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । तीन दिनसम्म चल्ने यस प्रदर्शनीको दैनिक समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्धारण गरिएको छ । “कृषिमा यन्त्र र प्रविधि, कृषक र राष्ट्रको समृद्धि” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रदर्शनीमा करिव ७० भन्दा बढी प्रदर्शनीकर्ताहरूको सहभागिता रहनेछ भने १५० भन्दा बढी स्टलहरू रहनेछन् ।
प्रदर्शनीमा २० भन्दा बढी देशका २ हजार भन्दा बढी आधुनिक प्रविधि, मेसिनरी तथा औजारहरू प्रदर्शनका लागि राखिने अध्यक्ष कृष्ण शर्माले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रदर्शनीमा आउने सम्पूर्ण अवलोकनकर्ता तथा आगन्तुकहरूका लागि प्रवेश निःशुल्क गरिएको छ । स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले ३० भन्दा बढी स्टलहरू स्वदेशी उत्पादक कम्पनी तथा संस्थाहरूलाई निःशुल्क उपलब्ध गराइएको छ ।
त्यस्तै, ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ अभियानअन्तर्गत भाग लिने स्वदेशी कम्पनीहरूलाई स्टल भाडामा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यहरूलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीहरूलाई २५ प्रतिशत छुट प्रदान गरिएको छ अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
प्रदर्शनीमा आधुनिक कृषि, पशुपंक्षी पालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, सिंचाई, पोस्ट हार्भेस्ट, प्रशोधन, कोल्ड स्टोर तथा बजारीकरण लगायतका प्रविधि र उपकरणहरू समावेश गरिनेछ । साथै, उन्नत बीउ–बिजन र कृषि तथा पशुपंक्षी सम्बन्धी सेवाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादक र विक्रेताहरूको सहभागिता रहनेछ ।
प्रदर्शनीको मुख्य आयोजकका रूपमा नेपाल सरकार (कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यन्त्रिकीकरण प्रवद्र्धन केन्द्र, हरिहरभवन) र नेपाल कृषि मेसिनरी व्यवसायी संघ रहेका छन् । बागमती प्रदेश सरकार (कृषि, पशुपंक्षी तथा वन मन्त्रालय, हेटौँडा) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठन सहआयोजकका रूपमा रहेका छन् । प्रदर्शनीको अवधिमा स्वदेशी तथा विदेशी विज्ञहरूको उपस्थितिमा कृषि यन्त्रिकीकरण सम्बन्धी प्यानल छलफल, नीतिगत संवाद तथा विभिन्न साइडलाइन इभेन्टहरू समेत सञ्चालन गरिनेछ ।
अध्यक्ष शर्माले भन्नुभयो,‘आठौँ अन्तर्राष्ट्रिय कृषि यन्त्रोपकरण प्रदर्शनी २०८३ आगामी मङ्सिर ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने तीनदिने प्रदर्शनीमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपालमा कृषि यान्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीको मूल नारा ‘कृषिमा यन्त्र र प्रविधि, कृषक र राष्ट्रको समृद्धि’ रहेको छ । प्रदर्शनीमा करिब ७० भन्दा बढी प्रदर्शनीकर्ता सहभागी हुनेछन् भने १५० भन्दा बढी स्टल रहनेछन् । करिब २० देशका दुई हजारभन्दा बढी प्रविधि, मेसिनरी तथा कृषि औजार प्रदर्शनीमा राखिनेछन् । स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले स्वदेशी उत्पादक कम्पनी तथा संस्थाका लागि ३० वटाभन्दा बढी स्टल निःशुल्क उपलब्ध गराइएको छ। मेड इन नेपाल तथा मेक इन नेपालअन्तर्गत सहभागी हुने कम्पनीलाई ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुट उपलब्ध गराइनेछ । प्रदर्शनीमा आधुनिक कृषि, पशुपंक्षीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, सिंचाई, पोस्ट हार्भेस्ट, प्रशोधन तथा बजारीकरणसम्बन्धी प्रविधि र उपकरण समावेश गरिनेछन् । साथै उन्नत बीउबिजन, कृषि तथा पशुपंक्षीसम्बन्धी सेवा र प्रविधिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित उत्पादक तथा विक्रेताको सहभागिता रहनेछ । प्रदर्शनीको मुख्य आयोजकमा नेपाल सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ रहेका छन् । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी तथा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) सहआयोजकका रूपमा रहेका छन् ।’
उद्योग वाणिज्य महासंघ मेला समितिका सभापति सविन श्रेष्ठले नेपालमा कृषि क्षेत्रको विकास र आत्मनिर्भरताका लागि कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । नेपाल कृषि मेसिनरी औजार संस्थाले आयोजना गरेको कृषि मेलाले कृषकलाई आधुनिक कृषि औजार तथा प्रविधिबारे जानकारी दिनुका साथै कृषि क्षेत्रमा चेतना र साक्षरता अभिवृद्धि गर्न सहयोग पुर्याएको उहाँले बताउनुभयो । नेपालमा कृषि क्रान्ति र आत्मनिर्भरताका विषयमा चर्चा भइरहे पनि कृषि क्षेत्रको विकासका लागि शुरुदेखि नै पर्याप्त प्रयास हुन नसकेको उहाँको भनाइ छ ।
श्रेष्ठले भन्नुभयो,‘नेपालमा कृषि र कृषि क्रान्तिका कुरा भइरहेका छन् । कृषिमा आत्मनिर्भर बन्ने विषयमा पनि चर्चा भइरहेको छ । सरकारले पनि यसका लागि विभिन्न प्रयास गरिरहेको छ । यद्यपि, कृषिको विकास कसरी गर्ने र त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा शुरुदेखि नै पर्याप्त प्रयास हुन नसकेको जस्तो देखिन्छ । वर्तमान अवस्थामा नेपाल कृषि मेसिनरी औजार संस्थाले कृषि मेला आयोजना गरेर कृषकहरूलाई आधुनिक कृषि औजार तथा प्रविधिबारे जानकारी दिने, शिक्षित र सचेत बनाउने प्रयास गरिरहेको छ । यसका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको तर्फबाट म यहाँहरूलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । वास्तवमा, यस्तो प्रयास अझ वृहत र क्रान्तिकारी ढङ्गले अगाडि बढ्नुपर्ने हो । यद्यपि, हाम्रो बजार र आफ्नै क्षमताले पनि यसलाई धेरै हदसम्म निर्धारण गर्छ ।’
यस्ता कृषि मेला अझ वृहत र क्रान्तिकारी ढङ्गले आयोजना गर्नुपर्ने उल्लेख गर्दै श्रेष्ठले नेपालको बजार र आन्तरिक क्षमताले पनि कृषि यान्त्रिकीकरणको विस्तारलाई निर्धारण गर्ने बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्