काठमाडौं । यू–१९ एसिया कप क्रिकेटको नयाँ संस्करण आजदेखि ओमानमा सुरु हुँदैछ । ओमानको अल अमेरातमा आयोजना हुने प्रतियोगिता यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा सहभागी नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले समूह चरणमा तीनवटा खेल खेल्ने तालिका छ । जसअनुसार नेपालले कात्तिक २० गते भारतसँग पहिलो प्रतिस्पर्धा गर्नेछ । त्यसपछि कात्तिक २२ गते युएई र २४ गते पाकिस्तानसँग खेल्नेछ ।
प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।
नेपाली टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन् ।
प्रतियोगिताको पहिलो दिन आज दुई खेल हुँदैछन् । उद्घाटन खेलमा मलेसिया र श्रीलंका भिड्दा अर्को खेलमा अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजे सुरु हुने तालिका छ ।









प्रतिक्रिया दिनुहोस्