
काठमाडौं । तिहार पर्वलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आजदेखि सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीको मेडालियन बिक्री सुरु गर्दैछ । राष्ट्र बैंकको टक्सार महाशाखाले दुई दिनसम्म यी सामग्री बिक्री गर्ने तयारी गरेको हो ।
महाशाखाका अनुसार सर्वसाधारणले २.५ ग्राम तौलको सुनको असर्फी र १० ग्रामको चाँदीको मेडालियन खरिद गर्न पाउनेछन् । दुवैमा लक्ष्मी र गणेशको आकृति अंकित गरिएको छ ।
खरिदकर्ताले एक जनाका लागि एक थान सुनको असर्फी र चाँदीको मेडालियन लिन सक्नेछन् । बढीमा दुई थानसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
असर्फी तथा मेडालियनको मूल्य खरिद गर्ने दिन कायम रहेको बजार मूल्यका आधारमा निर्धारण हुनेछ । महाशाखाले आज र भोलि मात्रै बिक्री गर्ने जनाएको छ ।
इच्छुक सर्वसाधारणले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखामा पुगेर खरिद गर्न सक्नेछन् । खरिदका लागि नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा उक्त नम्बर उल्लेख भएको अन्य आधिकारिक कागजातको प्रतिलिपिसहित खरिदकर्ता स्वयं टक्सार महाशाखामा उपस्थित हुनुपर्नेछ ।









प्रतिक्रिया दिनुहोस्