काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक यातायात अवरुद्ध भएको छ। पृथ्वीराजमार्ग र बीपी राजमार्गसहित १२ भन्दा बढी सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरीस्थित परेवाभिरमा पहिरो खसेपछि पृथ्वीराजमार्ग पूर्ण रूपमा बन्द भएको छ। यस्तै, काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत पिनथली र गिम्दीबेँसीमा खहरे खोलाको लेदोसहितको बाढी सडकमा पसेपछि बीपी राजमार्गमा पनि यातायात सञ्चालन हुन सकेको छैन।
यसैगरी सुर्खेतको बराहतालस्थित कर्णाली राजमार्ग र खोटाङ खण्डमा पर्ने मध्यपहाडी राजमार्ग अवरुद्ध भएका छन्। ललितपुरको बागमती खोला करिडोर र कान्तिलोकपथमा समेत पानीको बहाव बढेपछि आवागमन रोकिएको प्रहरीले जनाएको छ।
गुल्मी र पाल्पा खण्डमा पहिरो खस्दा कालीगण्डकी करिडोरमा यातायात प्रभावित भएको छ। त्यस्तै, मुगुको ताल्चास्थित नाग्म–गमगढी सडकखण्डमा पनि सवारी आवागमन बन्द भएको छ।
विभिन्न स्थानमा पहिरो खस्ने तथा खोलामा पानीको बहाव बढ्ने क्रम नरोकिएकाले देशका धेरै सडकखण्डमा यातायात सेवा प्रभावित बनेको छ।









प्रतिक्रिया दिनुहोस्