काठमाडौं । स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गराउनुपर्ने माग गर्दै ‘गैर दलीय स्थानीय तह अभियान नेपाल’ ले काठमाडौंको माईतीघर मण्डलामा ऐक्यवद्धता सभाको आयोजना गरेको छ ।
स्थानीय सरकारको सञ्चालन र निर्णय प्रक्रियामा राजनीतिक दलहरूको हस्तक्षेप बढेको भन्दै सो अभियानले दबाब सिर्जना गर्न कार्यक्रम गरेको हो । स्थानीय तहको निर्वाचन र शासन सञ्चालनमा दलीय भागबण्डा र हस्तक्षेपले गर्दा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर परेको भन्दै अभियानले लामो समयदेखि आवाज उठाउँदै आएको छ ।
अभियानकाअनुसार स्थानीय तह भनेको दलीय प्रतिष्पर्धा गर्ने थलो नभई नागरिकको सेवा र स्थानीय विकासको केन्द्र हुनुपर्छ । अभियानले यसअघि नै देशभर यसबारे बहस चलाउँदै आएको छ । दलको निर्देशनमा चल्दा जनप्रतिनिधिहरू जनताप्रति भन्दा पार्टीप्रति बढी उत्तरदायी हुनुपर्ने बाध्यता रहेको भन्दै यसलाई नीतिगत रूपमै सुधार गर्नुपर्ने माग राख्दै आएका छन् ।
अभियानले स्थानीय तहको निर्वाचनमा दलहरूको उम्मेदवारी दिने व्यवस्थालाई नै परिवर्तन गरी स्वतन्त्र व्यक्तिले मात्र प्रतिष्पर्धा गर्न पाउने व्यवस्था हुनुपर्ने पैरवी गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्