काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ ।
सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले उक्त जानकारी दिनुभएको हो । विपद्का कारण नाका सञ्चालनमा समस्या आएपनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुनःस्थापनाका लागि काम गरिरहेको बताउनुभयो ।
उहाँले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भएपनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा पनि हामी लागिरहेका छौँ। अहिले तातोपानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन । तातोपनी नाका संचालनको लागी नेपाली पक्षले तत्कालै त्यो बाटो सञ्चालनमा ल्याइसकेको छ । अहिले पनि हामी तयार छौँ । हाम्रो लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन । चीन पक्षसँग पनि हामी नियमित संवादमा छौँ । दैनिकजसो नै संवाद भइरहेको छ । तर उहाँहरू अझै तयार भइसक्नुभएको छैन। हाम्रो संवाद निरन्तर भइरहेको छ । बाढी जाने तथा अन्य विपद्का कारण देखाएर चिनियाँ सरकार यस्ता अवस्थामा केही हदसम्म अनिच्छुक हुने गरेको देखिन्छ । विपद्को अवस्थामा नाका सञ्चालन गर्नका लागि उहाँहरूले अझै ‘ग्रिन सिग्नल’ दिइसक्नुभएको छैन । हामी प्रयास गरिरहेका छौँ । मलाई लाग्छ, चाँडै नै हामी नाका खोल्न सफल हुनेछौँ ।’
मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनः सञ्चालन गर्नमा पनि सरकारले योजना बनाईरहेको बताउनुभयो ।
नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी र स्याटेलाइट सिटीका रूपमा विकास गर्ने सरकारको योजना रहेको उहाँको भनाई छ । त्यसका लागि मास्टर प्लान तयार गर्ने काम अघि बढाउने उहाँले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्