काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बेले कानूनी राज्यको उपहास गर्दै सरकारले आफ्नो शक्ति र संवैधानिक सीमा बिर्सिएको आरोप लगाउनुभएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले मध्यरातमा पूर्वप्रधानन्यायाधीशको पक्राउ, अर्थतन्त्रमा देखिएको निराशाजनक अवस्था र विपद् व्यवस्थापनमा सरकारको चरम असफलताप्रति आपत्ति जनाउनुभएको हो ।
आङदेम्बेले कुनै ठोस आधार र कानूनी प्रक्रियाबिनै पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्यमान्यताको उपहास भएको बताउनुभयो । अर्थतन्त्रको विषयमा सरकारको आलोचना गर्दै उहाँले लगानीमैत्री वातावरण बनाउनुको साटो निजी क्षेत्रलाई तर्साउने र अपराधीकै व्यवहार गर्ने प्रवृत्तिले देशको विकास ठप्प भएको जिकिर गर्नुभयो ।
महँगी र कालोबजारीले नागरिकको जीवन कष्टकर बनेको उल्लेख गर्दै उहाँले चाडबाडको समयमा सरकारको उदासीनताले जनतामा थप निराशा पैदा गरेको बताउनुभयो । विपद् व्यवस्थापनमा देखिएको सरकारी कमजोरीप्रति असन्तुष्टि जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘राज्यले विधिको शासनलाई बिर्सेर शक्तिको तुजुक देखाउन मिल्दैन । सरकारले यस घटनाको सत्यतथ्य छानबिन गरी संसदलाई स्पष्ट पार्नुपर्छ, यो सरकारको संवैधानिक दायित्व हो । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सिमित रहने प्रक्षेपण गरिरहँदा सरकार भाषणमा मात्र सिमित छ । पुँजी निर्माण हुन नसक्दा रोजगारी सिर्जना रोकिएको छ, जसको प्रत्यक्ष असर आम नागरिकको भान्सासम्म परेको छ । विपत्ति आउँदा नीति होइन, सरकारको उपस्थिति खोजिन्छ । तर प्रभावित क्षेत्रमा सरकार हराएको महशुस भइरहेको छ । रसुवा वा बाढी प्रभावित अन्य क्षेत्रमा सरकारको कार्यक्षमता कमजोर देखिएको छ ।’
उहाँले शिलान्यास गर्ने सरकारभन्दा पनि समयमै आयोजना सम्पन्न गर्ने सरकार अहिलेको आवश्यकता भएको औंल्याउँदै पूर्वाधार निर्माणमा देखिएको ढिलासुस्ती र बेथितिविरुद्ध तत्काल सुधारको माग गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्